हेटौंडाः किशोरवस्थामै आमा बन्नु चिन्ताजनक विषय हो । हेटौंडामा हरेक महिना उल्लेख्य संख्यामा किशोरीहरु आमा बनिरहेका छन् । तर, अझै सरकारले यसलाई गम्भीर रुपमा लिन सकेको छैन । हेटौंडा अस्पतालमा मंसिर महिनामा २३ जना किशोरी आमा बनेका छन् । मंसिर महिनामा हेटौँडा अस्पतालमा ३ सय २६ जना गर्भवतीले सुत्केरी सेवा लिँदा २० वर्षभन्दा कम उमेरका २३ जना किशोरी आमा बनेका छन् ।

एक महिनाको अवधिमा ३ सय २६ जना महिलामध्ये २ सय २० जना सामान्य अवस्थामा सुत्केरी भएका छन् । यस्तै, १२ जनाको अवस्था जटिल रहेको थियो भने ९४ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । हेटौँडा अस्पतालका सूचना अधिकारी राजीव झाका अनुसार ३ सय २६ जना आमाबाट एक सय ५८ छोरा र एक सय ६४ जना छोरीको जन्म भएको छ ।

हेटौंडा अस्पतालमा ग्रामीण क्षेत्रका मात्रै नभई र सहरी क्षेत्रबाट समेत किशोरीहरु गर्भवती भएर गर्भ जाँच गराउन र प्रसुती सेवा लिन आउने गरेका छन् । जिल्ला बाहिरबाट पनि गर्भवती किशोरीहरु आउने गरेका छन् । किशोरीले बच्चा जनमाउँदा जटिलता हुने, किशोरीको उच्च दबाव हुने, बच्चाको तौल सामान्य भन्दा कम हुने, बच्चा सानो हुने, बच्चा अड्किने समस्या देखा पर्दछ । गर्भवती किशोरीको सामान्य भन्दा शल्यक्रिया गरी सुत्केरी गराउने गरिएको छ ।