हेटौंडाः मकवानपुर जिल्लाका गाई भैंसीहरुमा अहिले भ्यागुते रोगको समस्या धेरै देखिएको छ । चिसोको समयमा गाई भैंसीहरुमा तापमान बढी हुने, सास फेर्न गाह्रो हुने, घ्वारघ्वार आवाज आउनेजस्ता समस्या देखापर्ने गरेको हेटौंडा उपमहानगरपालिकाका पशुपछी तथा मत्स्य विकास शाखाका प्राविधिक सहायक सागर बोहराले जानकारी दिनुभयो ।

अहिलेको समयमा पशुपछीप्रति मानिसहरुले गर्ने व्यवहारमा सकारात्मक परिवर्तन आएको बोहोराले बताउनुभयो । हेटौंडामा पशुपछीहरुमा हुने हिंसा कम हुँदै गएको उहाँको भनाइ छ । बोहराका अनुसार हेटौंडा उपमहानगरपालिकाभित्र पशु सेवाकेन्द्र ६ वटा रहेका छन् । यस्तै, मकवानपुरको हेटौंडा–४ स्थित कर्रामा एउटा पशु चिकित्सा केन्द्र रहेको छ ।

हेटौंडा उपमहानगरपालिकाभित्र डा. गणेश राणाले पशुहरुको जाँच गर्नुहुन्छ भने थप ६ वटा केन्द्रमा एक–एक जना प्राविधिकले सेवा दिइरहनुभएको बोहराले बताउनुभयो । उपमहानगरपालिकाले पशुपछी विभाग तथा सेवा केन्द्रबाट छिटो सेवा सुविधा दिने उद्देश्य बनाएको छ ।

हेटौंडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले पशु विज्ञान विषयमा कक्षा ९ देखि १२ सम्म तथा डिप्लोमा तहको पठनपाठन गर्दै आएको छ । जनप्रियमा पशु विज्ञान विषयको डिप्लोमा तहमा ४० जना विद्यार्थी अध्ययनरत छन् ।
पशुपछीहरुमा कहिलेकाहीँ महामारीको समयमा धेरै जटिल समस्या देखिनसक्ने बोहराले बताउनुभयो । पालिकाले पशु जाँच गर्नका लागि ल्याब र भिडियो एक्सरे निर्माण गर्ने भएको छ । अहिले पालिकाले गोबर परीक्षणबाट सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो । चिसो बढ्नासाथ धेरैजसो बाख्राहरुलाई छिट्टै रोगले आक्रमण गर्ने उहाँको भनाइ छ ।

बोहराका अनुसार अहिले कुनै पशुमा क्षति पुगेको छैन । घरपालुवा तथा बाहिरी जनावरहरुको स्याहारसुसार गर्न अत्यन्त आवश्यक हुने भन्दै पशुहरुको शरीर तथा स्वास्थ्यमा असहजता भए व्यक्तिहरुको स्वास्थ्यमा समेत असर पर्ने बोहोराले बताउनुभयो । जनावरहरुलाई पनि स्वास्थ्य जाँच तथा शरीरमा चाइने खोप उपलब्ध गराउन आवश्यक रहेको उहाँले जानकारी दिनुभयो । पशुहरुलाई विभिन्न खोप लगाइएमा मानिसलाई टोक्दा पनि रेबिजजस्ता समस्याको डर नहुने उहाँले बताउनुभयो ।

जनावरहरुलाई तनाव दिन नहुने भन्दै पशु ढुवानी गर्दा धेरै ध्यान दिन आवश्यक रहेको हेटौंडा उपमहानगरपालिकाका पशु चिकित्सक गणेश लामाले बताउनुभयो । डा. लामाका अनुसार अहिलेको समयमा महामारी नभए पनि लम्पी स्किनलाई हटाउन सकिएको छैन । अहिले सामान्यतया बाख्राहरुलाई इन्टेरोटोक्सिमिया र स्काटर, गाईलाई लम्पी स्किन तथा भ्यागुते रोग, ब्रोइलर कुखुरालाई रानीखेतजस्ता समस्या देखापरिरहेको छ । यस्तै, पशुहरुमा धेरै निमोनिया, ब्लुट, पेट फुल्ने समस्या, खोरेतलगायता समस्या देखापर्ने डा. लामाले बताउनुभयो ।

डा. लामाका अनुसार हेटौंडाका १९ वटै वडा सुगम छैन । किसानहरुलाई जनावरबाट हुने घाटा, किसानहरुलाई विभिन्न तालिम, माछामासुमा आत्मनिर्भर हुनुपर्छ भन्ने ज्ञान दिने उद्देश्य रहेको उहाँले बताउनुभयो ।