पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्दै अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरु ।

हेटौंडाः जेसीआई हेटौंडा वर्ष २०२४ का लागि अमृत बर्तौलाले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्र्दै बर्तौलाको प्यानलै घोषणा गर्नुभएको हो । बर्तौला वर्ष २०२३ को कार्यकारिणी उपध्यक्ष समेत हुनुहुन्छ ।

आउँदो शुक्रबार र शनिबार हुने साधाणसभाले जेसीआई हेटौंडाको नयाँ नेतृत्व चयन गर्नेछ । जेसीजमा अध्यक्ष एकजना, कार्यकारिणी उपाध्यक्ष दुइजना र उपाध्यक्षमा चार जना निर्वाचित हुने व्यवस्था छ । अन्य पद भने अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । बर्तौलाको प्यानलबाट कार्यकारिणी उपाध्यक्षमा विवेक आनन्द न्यौपाने र जीवन ढकाल रहनुभएको छ भने उपाध्यक्षमा रमेश काफ्ले, रमेश पराजुली, आतिश दाहाल र विश्वास पराजुलीको उम्मेदवारी रहने बताइएको छ ।

उम्मेद्वारी घोषणासँगै बर्तौलाले आफ्ना योजनाहरु पनि सार्वजनिक गर्नुभएको छ । बर्तौलाका अनुसार जेसीजमा आवद्ध युवालाई उत्प्रेरणामूलक तालिम सञ्चालन गर्ने, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सञ्चालन गर्ने, उद्यमी पाठशाला सञ्चालन गर्ने, क्रिकेट प्रतियोगितालाई निरन्तरता दिने, पूर्वअध्यक्ष क्लबसँग सहकार्य गरी रचनात्मक कार्यक्रम गर्ने, नेपाल जेसीजको राष्ट्रिय कार्यक्रम आफ्नो शाखा मार्फत गराउने रहेको छ ।

जेसीआई हेटौँडामा एक सय ७६ जना सदस्य छन् । यस वर्ष २९ जना नयाँ सदस्य थपिएको हो भने ११ जना सदस्य उमेर हदका कारण क्लबको सक्रिय सदस्यता अन्त्य भएको छ । जेसीजमा ४० वर्षसम्मका युवा सक्रिय सदस्यको रुपमा आवद्ध हुन पाउने व्यवस्था छ ।