हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताललाई स्वास्थ्य उपचारमा प्रयोग हुने उपकरण हस्तान्तरण गरेको छ । मंगलबार बिहान रोटरी क्लब अफ हेटौंडाले हेटौंडा–६ स्थित सामुदायिक अस्पतालमै पुगेर उपकरण हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष स्वागत राज प्याकुरेलले अस्पतालकी प्रतिनिधि समीक्षा बराल र वडाअध्यक्ष विष्णुबहादुर दाहाललाई ७७ लाख ५० हजार रुपौयाँ रकम बराबरको ५ वटा उपकरण हस्तान्तरण गर्नु भएको हो । रोटरीले लाईसेन्स पूर्णप्रणाली, वायोकेमेस्ट्री एनालाइजर, प्राइम स्क्यानर, युरिन एनालाइजर र हेमोप्रोटिन टेस्टिङ सिस्टम हस्तान्तरण गरेको हो । रोटरी क्लबका अध्यक्ष प्याकुरेलका अनुसार क्लबको यो तेस्रो विश्वव्यापी अनुदान रहेको छ । रोटरीले पहिला खानेपानी परियोजना र आँखा अस्पताललाई उपकरण हस्तान्तरण गरेको थियो । स्थानीयले कम शुल्कमा प्रभावकारी स्वास्थ्यजाँच पाउन भन्ने अपेक्षा रोटरीले राखेको प्याकुरेलले बताउनुभयो ।
प्याकुरेलले सामुदायिक अस्पताल भएकोले समुदायमा बस्ने मानिसको अस्पतालप्रति योगदान र जिमेवारी हुने बताउनुभयो । हस्तान्तरण कार्यक्रममा रोटरी इन्टरनेशनलअन्तर्गत नेपाल–भुटानको सहायक गभर्नर रामप्रसाद शर्मा, हेटौंडा–६ का वडा अध्ययक्ष विष्णु बहादुर दाहाल, रोटरी क्लब अफ हेटौंडाका निवर्तमान अध्यक्ष सुयष पराजुली र रोटरीका पूर्व अध्ययक्ष ऋषिराम घिमिरे, लोखराज पोखरेल, सचिव किशोर पराजुली लगायतको उपस्थिति रहेको थियो । रोटरी क्लबले आगामी दिनहरुमा विद्यार्थीका लागि दन्त शिविर आयोजना गर्ने सचिव पराजुलीले बताउनुभयो । सिद्धस्थली अस्पताल आगामी माघ महिनादेखि सञ्चालनमा आउँदैछ ।