म्यान अफ द म्याच समीर चौलागाईलाई ट्रफी प्रदान गरिँदै ।

हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रधानमन्त्री क्रिकेट टिम छनोट प्रतियोगितामा मकवानपुर क्रिकेट क्लब विजयी भएको छ । सोमबार हेटौँडा–४, हुप्रचौरमा भएको खेलमा मकवानपुर क्रिकेट क्लबले हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्टलाई १२१ रनले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ गरेको मकवानपुर क्रिकेट क्लबले ३३ ओभर ६ बलमा सबै विकेटको १७९ रन बनाएको थियो ।

मकवानपुर क्रिकेट क्लबबाट सबैभन्दा बढी सन्तोष उपाध्यायले ३९ बनाए । रिजन ढकालले ३८ रन, तक्षक सिम्खडाले २१ रन र सक्षम बास्ताकोटीले १५ बनाएका थिए । म्यानेजमेन्टबाट कृष्ण यादवले सबैभन्दा बढी ३ विकेट लिएका थिए । राजा अहमद र विशाल फुयालले समान २–२ विकेट लिएका थिए । यस्तै सन्तोष दासले र अमन यादवले समान एक–एक विकेट लिन सफल भएका थिए ।

जवाफी व्याटिङमा उत्रिएको म्यानेजमेन्ट १५ ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्र जोड्न सफल भयो । म्यानेजमेन्टबाट विशाल फुयालले सर्वाधिक ३० रन र राजा अहमदले ११ बनाएका थिए । मकवानपुर क्रिकेट क्लबाट समिर चौलागाईंले ५ ओभरमा १ मेडन ओभरमा ११ रन खर्चेर सर्वाधिक ५ विकेट लिन सफल भएका थिए । म्यान अफ द म्यान मकवानपुरबाट सर्वाधिक विकेट लिने समीर चौलागाईं घोषित भए ।

विनोद प्रधानको संयोजकत्वमा प्रतियोगितामा ५ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरु मध्ये पहिलो चरणमा उत्कृष्ट २२ खेलाडीहरु छनोट गरी दोस्रो चरणमा प्रदेशमा पठाइने मकवानपुर जिल्ला क्रिकेट संघको सदस्य साजन कुमार शर्माले जानकारी दिनुभएको छ ।

गतवर्ष भएको प्रधानमन्त्री क्रिकेट प्रतियोगितामा मकवानपुरबाट ४ जना छनोट भएका थिए । छनोट हुनेमा रामनरेश गिरी, गौरव खड्का, रिजन ढकाल र शुभ कंसाकार रहेका थिए । प्रतियोगिता अन्तर्गत मंगलबार हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र ओम नगर क्रिकेट क्लबबीच प्र्रतिस्पर्धा हुनेछ ।