हेटौंडाः किराँतहरुको पर्व उधौली आज मनाइँदै छ । उधौली पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । नेपालमा उधौली पर्व विशेषगरी भूमिपुत्र मुलवासी किराँत समुदायका सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने गर्दछन् ।
हरेक वर्षको मंसिर पूर्णिमाका दिन उधौली पर्व पर्दछ । किराँतीहरुको मान्यता अनुसार उधौलीदेखि हिउँद शुरु हुन्छ र हिँउदको शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । उधौली पर्व एकदिन तोकेपनि किरातीहरुले १५ दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने गर्दछन् । आज मंगलबार किराँत दाजुभाई तथा दिदि–बहिनीहरु परम्परागत भेषभुषा लगाएर सार्वजनिक स्थलमा भेला भएर पारम्परिक ‘साकेला’ नृत्य प्रस्तुत गर्ने चलन छ । साथमा परम्परागत बाजागाजाहरु एवम् विशेषत किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ ।
त्यसैगरी आज योमरी पुन्हि र धान्य पूर्णिमा तथा ज्यापु दिवस् समेत रहेको छ । आजका दिन मार्ग शुक्ल पूर्णिमा ६ः२९ सम्म रहेको छ । मंगलबार देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्हि मनाउने गर्दछन् । कृषि कार्यसँग भोलिको धान्य पूर्णिमाले विशेष महत्व बोकेको हुन्छ । योमरी पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा समेत भनिएको हो । नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार पारिन्छ ।