हात्तीले क्षति पुर्याएको एक घर । फाइल तस्वीर ।

हेटौँडाः मकवानपुरको मनहरीमा जङ्गली हात्तीको आक्रमणबाट एकजना महिला घाइते भएका छन् । शनिबार राती ११ बजेर ४५ मिनेटको समयमा मनहरी गाउँपालिका–७ बिजौनामा जङ्गली हात्तीको आक्रमणबाट ५१ वर्षीया कान्छीमाया तामाङ घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

तामाङ घरबाट बाहिर निस्कँदा जंगली हात्ति आई आक्रमण गर्दा ढाडमा चोट लागी गम्भीर घाइते भएकी थिइन् । घाइते तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर पुरानो मेडिकल लगिएको प्रहरीले जनाएको छ ।

स्थानीय र पर्सा राष्ट्रिय निकुञ्जको नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बलको टोली र प्रहरी टोली समेत खटी गई हात्तीलाई जंगलतर्फ पठाएको प्रहरीले जनाएको छ । जङ्गली हात्तीको आक्रमणबाट भौतिक सम्पत्ति र चौपायाको कति क्षति भयो भनी नखुलेको प्रहरीले जनाएको छ । पछिल्लो समय मनहरी क्षेत्रमा जंगली हात्तीको आक्रमणमा स्थानीयको खेतीपाती, घरमा क्षति पुगेको छ ।