हेटौँडाः चितवन जिल्लामा विभिन्न घटनामा एकै दिन ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार चितवन जिल्लाको रत्ननगर नगरपालिका–१४, गैरीगाउँमा धारिलो हतियार (चक्कु) ले आफ्नै कोखामा प्रहार गरी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ को साधुराम विक रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार विकले आफ्नै घरमा आफैँले धारिलो हतियार (चक्कु) ले कोखामा प्रहार गरी घाईते भएका थिए । घाइते विकलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । विकले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको र विकले पहिले पनि आत्महत्याको प्रयास गरेको श्रीमतीले जानकारी दिएको प्रहरीले जनाएको छ ।
यस्तै, चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकमा पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–५ घर भई हाल भरतपुर–१० बस्ने ३१ वर्षीय संगीता कुमारी साह रहेको प्रहरीले जानकारी दिएको छ । साह शुक्रबार बिहान ११ बजेर ४० मिनेटको समयमा नारायणी नदीको पुलबाट हाम फालेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै, भरतपुर–१ मा एकजना वृद्धको शव फेला परेको छ । शुक्रबार पोखरा बसपार्क नजिक मागी खाई हिँड्ने नाम थर नखुलेको अन्दाजी ७० वर्षीय पुरुष व्यक्ति प्रतिक्षालयमा मृत अवस्थामा रहेको फेला परेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
यस्तै, चितवनको रत्ननगर नगरपालिका–३, बेल्सीमा एकजना पुरुष मृत फेला परेका छन् । शुक्रबार बिहान ८ बजेको समयमा कयरकाली मुक्तेश्वर महादेव मन्दिरको धर्मशालामा नाम थर नखुलेको अन्दाजी ६५ वर्षीय मागी खाई हिड्ने पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । यस्तै, चितवनको कालिका नगरपालिका–१, लङ्कालाईन कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक काठमाडौँ महानगरपालिका–५ का विष्णु क्षेत्री रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो १ बजेर ५० मिनेटको समयमा भरतपुरबाट कालिका नगरपालिकाको खोलेसिमल जाँदै गरेको कारको अगाडिको टायर पड्केर अनियन्त्रित भई दुर्घटना हुँदा क्षेत्री घाइते भएका थिए । घाइते क्षेत्रीलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा शुक्रबार दिउँसो २ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।