हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बिहान बसेको छ । बिहान ८ बजेका लागि बोलाइएको बैठक ९ः३० बजे मात्रै सुरु भएको थियो । कार्यपालिका बैठकले नगरसभा पुस २१ गते गर्ने निर्णय भएको एक वडा अध्यक्षले जानकारी दिनुभएको छ ।
कार्यपालिका बैठकका निर्णय उपमहानगरले सार्वजनिक गर्ने गरेको छैन । कार्यपालिका बैठकको निर्णय औपचारिकरुपमा सार्वजनिक नगरिरहेको सन्दर्भमा नाम नबताउने सर्तमा एक वडा अध्यक्षले भन्नुभयो, “चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट संशोधन समेत गर्ने गरी १५औं नगरसभा यही पुस २१ गते बस्ने निर्णय भएको छ ।” कार्यपालिका बैठकका पूर्वनिर्धारित विषयमा मात्रै छलफल गरी आवश्यक निर्णय गरिएको ती वडा अध्यक्षले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक कार्यतालिकाअनुसार बस्न सकेको छैन भने बैठकका निर्णय समेत बैठक सक्नुअघि नै नलेखी ३ दिनपछिसम्म लेखेर नगरप्रमुखले प्रमाणित गर्ने गरिएको छ । नगरप्रमुखले बैठकका निर्णय प्रमाणित गरेपछि पनि ती निर्णयहरु सार्वजनिक गर्ने गरिएको छैन ।