हेटौंडाः नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको एकवर्षे कार्यसमीक्षा गरेको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले वर्तमान प्रदेश सरकार पक्षपाती भएको आरोप लगाउनुभएको छ ।
सरकारले मन्त्रीमुखी बजेट विनियोजन गरी आफ्ना सीमित क्षेत्रमा मात्र बजेट विनियोजन गरेको उहाँले बताउनुभएको छ । सरकारले बजेट बिनियोजनको समयमा गरेका सहमति पूरा नगरी तानाशाही ढङ्गले सरकार अगाडि बढेको बताउनुभयो । बागमती प्रदेश सभा सञ्चालन, सरकारको काम कारबाही, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको स्थिति, समसामयिक राजनीतिक विषयहरु र जनताले दैनिक जीवनमा भोग्नुपरेका पीडा र सास्तिका विषयहरुमा पार्टीले एकवर्षे समिक्षामा छलफल गरेको बताउनुभयो । वर्तमान सरकारले महालेखा परीक्षकको गत आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले उल्लेख गरेको बेरुजु, आर्थिक अपारदर्शिता हटाई तत्काल सुशासन दिनुपर्ने, सरकारले संसदमा प्रमुख प्रतिपक्षी र विपक्षी दलहरुले उठाएका आवाज सम्बोधन नगरेको नेता थपलियाले बताउनुभयो ।
प्रदेश सभाका समितिहरु एकवर्षमा बनेको र सभापतिहरु चयनमा ढिलाई भएकोले सरकार त्यस्ता समस्या समाधान गर्न नलागेको नेता थापाको भनाइ छ । बागमती प्रदेशको राजधानी हेटौंडा आउने जाने बाटोहरु फर्पिङ–भीमफेदी सडक, मातातीर्थ, चखेलभञ्ज्याङ–कलंकी सडक र छैमले–सिस्नेरी सडक बन्न नसकेको, सरकारले प्रदेश सभाको बैठक नबोलाउँदा प्रदेश सभा सदस्यहरुले जनताका आवाजहरु उठाउन नपाएको, चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. २६ मा आगामी वर्ष प्रदेश सरकारले थप दरबन्दी र संगठन सिर्जना गर्ने छैन, सवारी साधन खरिद गर्ने कार्यलाई निरुत्साहित गर्नेछ भन्ने कुरा पारित गरे तापनि सरकारले आफ्नै नीति विपरित जथाभावी संरचना र दरबन्दी सिर्जना गरी आर्थिकभार बढाउने कार्य गरेको आरोप लगाउनुभयो ।
बागमती प्रदेशमा सरकार सत्ता गठबन्धनका लागि मात्र भएको बताउँदै प्रदेशको अधिकार क्षेत्र प्रहरी प्रशासनलाई प्रदेश सरकार मातहत ल्याउने, एकल अधिकारका कानूनहरु बनाउने, संयुक्त अधिकारहरु प्राप्तिका लागि पहलकदमी लिने, स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृतहरु पठाउने जस्ता कार्यहरु गर्नमा सरकार हिचकिचाइरहेको थपलियाले बताउनुभयो । संघीय सरकार सयौं सुन ओसारपसार हुने, एनसेल जस्ता अर्बौंका भ्रष्ट्राचारका काण्ड मच्चाउने, मान्छे बेच्ने काण्डका नाइकेहरु छुटाउने, डन र तस्करहरुलाई छुटाउने, दिनदिनै महंगी बढाउने जस्ता कार्यमा लागेकोले हजारौं जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमा समेत प्रश्न उठ्न थालेको उहाँको भनाइ छ । प्रदेश सरकारले तत्काल प्रदेश सभा बैठक बोलाई समस्याहरुका समाधानका लागि एमालेले माग गरेको छ ।