हेटौंडाः हेटौंडा उपमहानगरपालिका–८, कमानेमा व्यापार प्रवद्र्धन एवम् प्रदर्शनी मेला हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी शुक्रबार र शनिबार कमाने व्यापार प्रवद्र्धन एवम् प्रदर्शनी मेला हुने आयोजकले जानकारी गराएको हो ।

वडा कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत् ‘स्थानीय व्यापार, स्थानीय प्रवद्र्धन, स्थानीय प्रदर्शनी’ भन्ने नाराका साथ वडाभित्र रहेका स्थानीय व्यापार व्यवसाय, कला, सांस्कृतिक पहिचान र प्रदर्शनी गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताउँदै वडामा रहेका १९ वटै टोल विकास संस्थाको उत्पादनलाई प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । मेलामा वडामा नै उत्पादन भएका वस्तुहरु रहने आयोजकको भनाइ छ ।

स्थानीय सरकारले भौतिक क्षेत्रमा भन्दा पनि सामाजिक, महिलाको क्षेत्रमा धेरै लगानी गरी महिला समूहमा सीप सिकाएकाले त्यसबाट उत्पादन भएका सामग्री प्रदर्शन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको वडा अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो । राज्यले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्न खोजेको बताउँदै यस्ता मेला वडामा गर्दा विकासमा टेवा पुग्ने थापाले धारणा राख्नुभयो ।

कमानेको निमचोकदेखि सागरचोकसम्म १५० मिटर सडक क्षेत्रमा महोत्सव गर्न लागिएको प्रचारप्रसार संयोजक सुदीप गिरीले जानकारी दिनुभयो । ‘कमानेको किनौं, कमानेलाई चिनौं’ भन्दै महोत्सवलाई सफल पार्न गिरीले आग्रह गर्नुभयो ।

महोत्सवमा ७० वटा स्टल रहने बताउँदै महोत्सव संयोजक विष्णुप्रसाद अर्जेलले संस्थागत रुपमा आउने १९ वटा टोल विकास संस्थालाई स्टल निःशुल्क गरिने जानकारी दिनुभयो । व्यक्तिगत नाफा कमाउने उद्देश्यले आउने व्यक्तिलाई स्टलको २ हजार रुपैयाँ शुल्क लाग्नेछ भने वडा बाहिरका व्यवसायीले वडाको सिफारिससहित आएमा २ हजार रुपैयाँ शुल्क लाग्ने र अन्य व्यक्तिगत नाफा कमाउने उद्देश्यले आउनेलाई ३ हजार रुपैयाँ शुल्क लाग्ने बताइएको छ ।

मेलामा हेटौंडा उपमहानगरका १९ वडाबाहेकको अन्य स्थानको स्टल नरहने आयोजकले जनाएको छ । महोत्सवमा बालबालिकाको प्रस्तुति रहने बताउँदै सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । महोत्सवमा ७ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गर्रिको छ । ३ लाख रुपैयाँ वडाबाट बजेट विनियोजन भएको छ भने ३ लाख रुपैयाँ नगरपालिकाले दिने र एक लाख रुपैयाँ मेलाबाट आर्जन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।