हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्युुएए) प्राप्त गरेकोे छ । आइतबार विश्वविद्यालय अनुदान आयोगले हेटौंडा क्याम्पसलाई क्युएए प्रदान गरेको क्याम्पसका सहायक प्राध्यापक देवीराम लामाले बताउनुभयो । भक्तपुरस्थित आयोगको कार्यालयमै भएको कार्यक्रममा आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले हेटौँडा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दाराम पराजुलीलाई क्युएए प्रमाणपत्र प्रदान गर्नुभयो ।
विभिन्न शैक्षिक गतिविधि र सूचकहरु पार गर्दै हेटौंडा क्याम्पसले क्युएए प्राप्त गर्न सफल भएको सहायक प्राध्यापक लामाले बताउनुभयो । यसअघि मकवानपुर जिल्लाको मकवानपुर बहुमुखी क्याम्पस र हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले क्युएए प्राप्त गरिसकेको छ । विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त गर्ने हेटौंडा क्याम्पस ८३ औँ क्याम्पस हो । आयोगबाट क्युएए प्राप्त गर्नुलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक गुणस्तर सुनिश्चितता भएको मानिन्छ ।
विश्वविद्यालय अनुदान आयोगले क्युएए प्रदान गर्ने क्रममा सामुदायिक क्याम्पसको हकमा क्षमता विकास तथा भौतिक संरचना सुधारका लागि अनुदान समेत दिने गरेको छ । क्युएए प्राप्तिकै क्रममा हेटौँडा क्याम्पसले आयोगबाट भवन निर्माणका लागि अनुदान समेत प्राप्त गरेको छ । शिक्षा, मानविकी र व्यवस्थापन संकाय अध्ययन अध्यापन हुने क्याम्पसमा अहिले १ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
क्युएए प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसाल, हेटौँडा क्याम्पसका कार्यवाहक प्रमुख बालकृष्ण शर्मा, निवर्तमान क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, हेटौँडा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष मुनु सिग्देल र क्याम्पस सञ्चालन समितिका पदेन सदस्य एवम् हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, पब्लिक क्याम्पस प्राध्यापक संघ हेटौँडा क्याम्पस इकाईका अध्यक्ष भुपेन्द्र कोइरालाको पनि उपस्थिति रहेको थियो । क्युएए प्रमाणपत्र ग्रहण गर्न हेटौँडा क्याम्पसका सञ्चालक, प्रशासक, प्राध्यापक, कर्मचारी, विद्यार्थीको समूह नै काठमाडौं पुगेको थियो ।