गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशको चार जिल्लाका फरक–फरक स्थानमा भएको घटनामा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई जना, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेकका एक–एक जना रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शनिबार साँझ ६ बजेको समयमा बरुवाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३०४ प ८९१७ नम्बरको मोटरसाइकललाई पहिचान नभएको सवारी साधनले ठक्कर दिँदा माडी नगरपालिका–२ का ६० वर्षीय वडासदस्य जीवलाल लुइटेलको मृत्यु भएको छ । वडासदस्य लुइटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन फरार रहेको र खोजी कार्य भइरहेको जनाएको छ ।

शनिबार नै चितवनमा बिहान ७ बजेर ३५ मिनेटको समयमा ईच्छाकामना गाउँपालिका–४ एक जना पुरुष मृत फेला परेका छन् । सोही ठाउँस्थित सार्वजनिक पार्किङस्थलमा भारत युपी प्रदेशका बलरामपुर अमुवा सिपुराबाट युपी ६५ एटी ८३९५ नम्बरको बसमा मनकामना दर्शनका लागि ५४ जना आएकामध्ये सिपुराका ८५ वर्षीय रामजेश मैरिया मृत फेला परेका हुन् । घटनाको अनुसन्धान गर्दा प्युुठानको नौबहिनी गाउँपालिकास्थित लुप्लुङ माविबाट शौक्षिक अवलोकन भ्रमणमा आएका रा १ ख ३११७ नम्बरको बस पछाडी गर्ने क्रममा ठक्कर दिएको भनी खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै शुक्रबार राति नुवाकोटको मेघाङ गाउँपालिका–२ का ७० वर्षीय लक्ष्मण तामाङ मृत फेला परेका छन् । तामाङ घरदेखि १ सय मिटर पुर्व आफ्नै कोदो बारीमा मृत फेला परेको प्रहरीले जनाएको छ । यस्तै शुक्रबार साँझ ७ बजेर ३० मिनेटको समयमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, बासबारीकी ३२ वर्षीया पार्वती सुनार सुतिरहेको अवस्थामा मृत फेला परेकी छन् । सुनार आफ्नो घरबाट माईतीघर आएर मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।

यस्तै शनिबार बिहान १० बजेर ४० मिनटेको समयमा काभ्रेको मण्डनदेपुर नगरपालिका–१० की ६५ वर्षीय कान्छी परियार मृत फेला परेकी छन् । परियार घरदेखि ४ मिटर पर छिमेकीको बारीमा मृत फेला परेको जनाएको छ । शनिबार साँझ ६ बजेर ५ मिनेटको समयमा शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको जनाएको छ ।