हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–१ स्थित सूर्य माध्यमिक विद्यालयका ५५ जना स्काउट विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । बागमती गाउँपालिका १ नम्बर वडा कार्यालयले बिहीबार स्काउट विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको हो ।
पोशाक वितरण कार्यक्रम सूर्य स्काउट ट्रुपको आयोजना तथा बागमती गाउँपालिका १ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा भएको सूर्य स्काउट ट्रुपका संयोजक राजकुमार राईले जानकारी दिनुभयो ।
कार्यक्रम सूर्य स्काउट ट्रुप इकाई अध्यक्ष तथा सूर्य माविका प्रधानाध्यापक दिलबहादुर भोलनको अध्यक्षता, बागमती गाउँपालिकाको १ नम्बर वडा अध्यक्ष यहुन्ना राईको प्रमुख आतिथ्य तथा बागमती गाउँपालिका शिक्षा शाखा प्रमुख प्रमोद राईको विशिष्ट आतिथ्यमा भएको हो ।
विद्यालयमा सञ्चालित स्काउट ट्रुपका विद्यार्थी र स्काउट शिक्षकहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले पोशाक वितरण गरिएको वडा अध्यक्ष यहुन्ना राईले बताउनुभयो । बागमती गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को शिक्षातर्फको वार्षिक स्वीकृत बजेटअन्तर्गत् शिक्षाका विविध कार्यक्रम शीर्षक बजेटबाट पोशाक खरिद गरी वितरण गरेको वडा अध्यक्ष राईले बताउनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरबहादुर थापा क्षेत्री, पूर्वप्रधानाध्यापक वीरबहादुर राई, रत्नबहादुर राई, संस्थापक शिक्षक सूर्यबहादुर राईलगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा वडा सदस्य हस्त थिङ, वन अधिकृत नरेश महतो, पूर्वशिक्षक भुवनप्रसाद राईलगायतका व्यक्तिको उपस्थिति रहेको थियो । बागमती गाउपालिकाको सूर्य माविमा मात्र स्काउट कार्यक्रम सञ्चालन भइरहेको संयोजक राईले बताउनुभयो ।