हेटौंडाः सानिमा बैंकको हेटौँडा शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । शुक्रबार बिहान हेटौँडा–४, पारिजातपथस्थित कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा ५ महिला र २७ पुरुषले रक्तदान गरेका रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
सानिमा बैंकको १९ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । अहिले रक्त सञ्चार केन्द्रमा एबी पोजेटिभ र ए पोजेटिभ रगतको अभाव भएको सापकोटाले बताउनुभयो । यसअघि बिहिबार हेटौँडा–१७, हटियास्थित हटिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । सहकारीको १६ औं स्थापना दिवसको अवसरमा बिहिबार रक्तदान कार्यक्रम भएको थियो । भोलि शनिबार हेटौंडा–९, धापटोलमा मानवेश्वर युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ ।