आगामी पुस ५ गतेबाट पुस १७ गतेसम्म हेटौंडामा आयोजना हुने भनिएको वृहत् खेलकुद तथा व्यापार महोत्सवलाई लिएर मकवानपुर उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा महोत्सव हुन लागेको हो । हेटौंडा–१०, टीसीएनचौरमा हुने महोत्सव रोक्न मकवानपुर उद्योग वाणिज्य संघले स्थानीय सरकार तथा प्रशासनलाई ध्यानाकर्षण गराए पनि सुनुवाई नभएपछि बुधबार संघले पत्रकार सम्मेलन गरेर मेलाप्रति आपत्ति जनाएको हो । पत्रकार सम्मेलनमा संघले अन्य व्यावसायिक संस्थासँग खेलकुद विकास समितिले साँठगाँठ गरेको आरोप लगाएको छ । उद्योगी व्यवसायीले आर्थिक मन्दीको प्रभाव भोगिरेको भन्दै हेटौंडाका व्यवसायीहरुलाई प्रत्यक्ष असर पर्नेगरी महोत्सव आयोजना गर्न नहुने संघको भनाइ छ । देशभर उद्योग वाणिज्य संघहरुले औद्योगिक तथा व्यावसायिक वस्तु तथा सेवाहरुका साथै उद्यमशीलता प्रवद्र्धननका लागि मेला महोत्सव आयोजना गर्ने गरेको भन्दै उद्योग तथा व्यापार क्षेत्रसँग सरोकार नभएको संस्थाले व्यापार महोत्सव गर्न नहुने दावी गरिएको छ ।
खेल सम्बद्ध संस्थाले खेलकुद महोत्सव गर्नु उचित भए पनि व्यापार महोत्सव गर्न लागेकोमा उद्योग वाणिज्य संघले विरोध गरेको छ, जुन स्वभाविक हो । खेलकुद विकास समितिले खेलकुदसम्बन्धी क्रियाकलाप समेटेर खेलकुद महोत्सव गर्नुपर्ने संघका पदाधिकारीले बताउँदै आएका छन् । तर, खेलकुद विकास समितिले आयोजना गर्न लागेको खेलकुद तथा व्यापार महोत्सवप्रति खेल सम्बद्ध संस्था एवम् खेलाडीहरु भने उत्साहित बनेका छन् । महोत्सवमा दिनहुँजसो विभिन्न खेलका प्रतियोगिता तथा प्रदर्शनी हुने बताइएको छ । आयोजकले महोत्सव अवधिभर राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विधामा खेलकुद प्रतियोगिता तथा प्रदर्शन गर्ने गरी संयोजक तोकेको छ । महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीतर्फ महिला पुरुष दुबै विधाको प्रदेशस्तरीय प्रतियोगिता हुने बताइएको छ । यस्तै, कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्लास्तरीय, आर्चरीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता गर्ने आयोजकले जानकारी दिएको छ ।
व्यापार, व्यवसाय, कृषि, उद्योग, पर्यटन, कला, संस्कृति, खेलकुदलगायतका आर्थिक तथा सामाजिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य राखेर मकवानपुरलगायत देशभर विभिन्न मेला तथा महोत्सव हुने गरेका छन् । जसले जुनसुकै उद्देश्य राखेर मेला, महोत्सव आयोजना गरिए पनि आयोजकले आर्थिक उपार्जन गर्न व्यावसायिक स्टल राख्नैपर्छ । महोत्सवहरुमा अवलोकनकर्तालाई आकर्षित गर्न विभिन्न रमाइला खेल, मनोरञ्जन तथा स्टेजमा हुने सांगीतिक कार्यक्रमले उत्तिकै महत्व पाउने गरेको छ । हेटौंडामा आयोजना गर्न लागिएको खेलकुद तथा व्यापार महोत्सवबाट पनि खेलकुद विकास समितिले कम्तिमा २५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ । यसका लागि महोत्सवमा खेलकुद प्रतियोगिता र प्रदर्शनीसँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, अटोमोबाइल, लत्ताकपडा, भाँडाकुँडा, खानाखाजाका स्टलसमेत रहने निश्चित छ । यसका साथै बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरीसमेत हुनेछन् ।
निश्चित उद्देश्य राखेर आयोजना हुने सबैजसो मेला, महोत्सव उद्देश्यमूलक बन्न सकिरहेका छैनन् । रमाइला खेल तथा मनोरञ्जनात्मक गतिविधि, खानपानप्रति नै महोत्सव अवलोकनकर्ता झुम्मिने गर्दछन् । मेला र महोत्सवमा उद्देश्यमूलक स्टल तथा गतिविधिमा भन्दा अवलोकनकर्ताहरु नाचगान, खानपिन र मनोरञ्जनमा रमाउने र आयोकजकले पनि तिनै गतिविधिबाट पैसा कमाउने प्रवृत्ति बढ्दै गएको छ । महोत्सवमा उद्देश्यमूलक सिमित गतिविधि र स्टल हुने र त्यस्ता गतिविधि र स्टलमा अवलोकनकर्ताको ध्यान नजाने अवस्था रहुञ्जेलसम्म मेला, महोत्सव भीड जम्मा गरी पैसा कमाउने थलोमात्र बन्ने निश्चित छ । उद्देश्यमूलक गतिविधि र स्टल व्यवस्थापनमा आयोजक गम्भीर नहुँदासम्म कुनै पनि मेला, महोत्सव प्रभावकारी बन्न सक्दैनन् ।











