हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले गर्भवतीलाई निःशुल्क जाँच एवम् एम्बुलेन्स सेवा दिएको छ । मंसिर महिनादेखि मनहरी गाउँपालिकाले गर्भवतीलक्षित महिलाहरुलाई सेवा दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार पालिकाले आप्mनै खर्चले एम्बुलेन्स खरिद गरेको हो । आर्थिक अवस्था कमजोर भएका तथा साधन नभएका बिरामीले पनि जाँच गर्न पाउन भने उद्देश्यले एम्बुलेन्सको सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले ८ सय ४१ जना गर्भवतीलाई निःशुल्क सेवा दिने लक्ष्य राखेको छ ।
मनहरी गाउँपालिकामा ३ वटा एम्बुलेन्स रहेको छ । पालिकाको एम्बुलेन्सले पालिकाका बासिन्दालाई निःशुल्क सेवा दिने भएको छ भने अरु पालिकाका बासिन्दाले एम्बुलेन्सबाहेको सेवा निःशुल्क पाउने दाहालले बताउनुभयो ।
बुधबार मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्स–रे मेशिन हस्तान्तरण गर्नुभएको थियो । यस्तै, गाउँपालिकाले गर्भवती महिलाहरुको पिसाब तथा रगत जाँच सेवा पनि निःशुल्क गरेको थियो ।