हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको नयाँ फुटबल क्लबबीचको छनोट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । संघले बुधबार प्रतियोगितामा सहभागी भएका क्लबका पदाधिकारीहरुको उपस्थितिमा खेलतालिका सार्वजनिक गरेको हो ।
जिल्लास्तरीय क्लबको मान्यता दिँदै जिल्ला लिग खेल्न पाउने २ वटा क्लब छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागेको हो । मकवानपुर जिल्ला फुटबल संघका सदस्य आलोक स्याङ्तानको संयोजकत्वमा हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता जनाउने भएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने दुई टिम जिल्लास्तरीय टिमको रुपमा छनोट भई जिल्ला लिगमा सहभागी हुनेछन् भने आगामी लिगमा दुई वटा टिम घटुवामा पर्ने बताइएको छ । प्रतियोगिता संयोजक स्याङ्तानले २०७६ सालपछि एन्फा रेलिगेटेड लिग गर्नुपर्ने नियम लागू भएपछि मकवानपुरले लिग सुरु गरेको बताउनुभयो । उहाँले विभिन्न जिल्लाहरुमा विभिन्न कारणले जिल्ला लिग स्थगित भएपछि नयाँ ढंगबाट खेल सञ्चालन गर्न लागेको बताउनुभयो ।
यही मंसिर २३ गतेदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा दिउँसो १२ः०० बजे हेटौंडा–१८ स्थित कमलादेवी युवा क्लब र हेटौंडा–१२ पदमपोखरीस्थित पञ्चशील युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन दोस्रो खेलमा दिउँसो २ः०० बजे हेटौंडा–१९ को जनहित युवा क्लब र हेटौंडा–१३ को पदमपोखरी एकेडेमीबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर ३० गते हुनेछ । प्रतियोगिता हेटौंडा–५ को पिप्ले–क्याम्पा रंगशालामा हुनेछ । प्रतियोगिताको उपाधि विजेता र उपविजेताले शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।