हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१६ स्थित हटिया अस्पतालले सोमबारदेखि विशेषज्ञ चिकित्सकबाट सेवाग्राहीलाई सेवा दिन सुरु गरेको छ । हटिया स्वास्थ्य चौकीको स्तरोन्नति गरी हेटौँडा उपमहानगरपालिकाले हटिया अस्पताल निर्माण गरेपछि सोमबारबाट विशेषज्ञ डाक्टर कमलराज न्यौपानेद्वारा सेवा प्रदान गर्न सुरु गरिएको हो । डा. न्यौपाने हेटौँडा उपमहानगरपालिकाले नियुक्त गरेको पहिलो विशेषज्ञ चिकित्सक हुनुहुन्छ ।
यसअघि स्वास्थ्य चौकीको प्रमुखको रुपमा वरिष्ठ अहेव अनन्त बास्कोटा हुनुहुन्थ्यो । अहिले अस्पतालमा सामग्री नआएका कारण डा. न्यौपानेले सामान्य जाँच गरिरहनु भएको छ । अस्पतालले पहिलो चरणमा अल्ट्रासाउण्ड, प्रयोगशाला र ओपीडी सेवा दिने डा. न्यौपानेले बताउनुभयो ।
अस्पतालमा ओपीडी सेवा सुरु नहुँदै दैनिक ५० जना सेवा लिन आउने गरेका छन् । हटिया अस्पतालले आगामी दिनहरुमा ओपीडी सेवाका साथ इमर्जेन्सी, गर्भपतन, परिवार नियोजन, शल्यक्रिया, एक्स–रे, परामर्श र फार्मेसीलगायतको सेवा दिने डा. न्यौपानेले बताउनुभयो । डा. न्यौपानेका अनुसार अल्ट्रसाउण्ड गर्ने मेशिन आएपछि अल्ट्रसाउण्डको सेवा दिन सुरु हुनेछ ।
‘सेवा बढेपछि जनशक्तिको आवश्यकता हुन्छ’, डा. न्यौपानेले भन्नुभयो, ‘अस्पताललाई गाउँपालिका तथा अन्य संघ, संस्थाले सहयोग गरे हामी सहयोग लिन तयार छौँ ।’ हटिया स्वास्थ्य चौकीको स्तरोन्नति भएसँगै सेवा थप भए पनि पूर्ण सेवाको प्रक्रियामा रहेको उहाँले बताउनुभयो । डा. न्यौपानेले यसअघि भरतपुर अस्पतालमा एक वर्ष एनआइसीयूमा काम गर्नुभएको थियो । नवलपरासी जिल्ला अस्पतालमा २ वर्ष इमर्जेन्सी विभागमा काम गर्नु भएका डा. न्यौपाने आगामी दिनमा अस्पतालमा बीमा कार्यक्रम सञ्चालन गरिने बताउनुहुन्छ ।
डा. न्यौपानेका साथ अहिले ३ जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी हुनुहुन्छ भने पालिकाले एक डाक्टर तथा थप कर्मचारीका लागि विज्ञापन गरेको छ । वडा नम्बर १६ का बासिन्दाले अस्पतालमा विश्वास गर्नुपर्ने र सहयोग गर्नुपर्ने डा. न्यौपानेले बताउनुभयो । डा. न्यौपानेले मंसिर महिनाभित्र ओपीडी, फार्मेसी र इमर्जेन्सीको सेवा सञ्चालनमा आउने बताउनुभएको छ ।
हेटौँडा–१६ की बासिन्दा अनिसा साहका अनुसार वडामा अस्पताल खुलेपछि बजार जानु नपर्ने र समयको बचत हुने बताउनुभयो । यस्तै, हेटौँडा–१६ कै बासिन्दा विष्णु दुलालका अनुसार वडामा सबैजनाको बीमा भएका कारण अस्पतालले बीमाको व्यवस्था मिलाए मानिसले चासो दिने बताउनुभयो । यस्तै, अस्मिता भुसालका अनुसार स्थानीयस्तरमै अस्पताल सञ्चालनमा आए आर्थिक अवस्था कमजोर भएकाले पनि सेवा लिन पाउने बताउनुभयो ।