हेटौँडाः आज मंसिर २१ गते हेटौँडा–१०, गोरक्षेश्वरधामस्थित संस्कृत वेद विद्यालयका संस्थापक प्रेमनाथ पराजुलीको जन्मजयन्ती हो । पराजुलीको जन्मजयन्तीको अवसरमा विद्यालयले संस्थापकको स्मृतिमा सभाको आयोजना गरेको छ । २०५६ सालमा हेटौँडा–४ स्थित भुवनेश्वर महादेव मन्दिरमा पण्डित दुर्गानाथ पौडेलसँगको सहकार्यमा पराजुलीले संस्कृत भाषा अध्यापन कार्यको सुरुवात गर्नु भएको थियो । २०५७ साल तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट अनुमति प्राप्त गरी पुत्रदा एकादशीको दिनबाट गोरक्षेश्वरधाममा संस्कृत वेद विद्यालय स्थापना गरिएको थियो ।
६ कक्षादेखि ८ कक्षासम्म पठनपाठन सुरु गरेको संस्कृत वेद विद्यालयमा अहिले ४ कक्षादेखि ८ कक्षासम्म पठनपाठन भइरहेको छ । संस्कृत वेद विद्यालयमा अहिले २७ जना विद्यार्थी अध्ययनरत छन् । गत भदौमा सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएपछि विद्यालयको व्यवस्थापन र पठनपाठनको उचित व्यवस्थापनको कार्यले तीव्रता पाएको छ ।
संस्कृत भाषाको उत्थान तथा सम्वद्र्धन गर्ने उद्देश्यले स्थापित विद्यालयमा मकवानपुरसँगै झापा, कास्की, सर्लाही र पर्सा जिल्लाका विद्यार्थी अध्ययनरत छन् । संस्थापकको स्मृति दिवसमा सरोकारवालाको सहभागितामा विद्यालयको भौतिक, शैक्षिक विकासमा अन्तरक्रिया गर्न खोजिएको विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ । संस्कृत विद्यामा बढ्दो आकर्षणलाई सम्बोधन गर्ने गरी संस्कृत वेद विद्यालयलाई विकास गर्ने योजना रहेको उहाँको भनाइ छ ।
एक वर्षदेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका गोपाल अधिकारी सबैको साथ र सहयोग रहे विद्यालयमा सकारात्मक परिवर्तन गर्न सकिने बताउनुहुन्छ । विद्यालयमा प्रधानाध्यापक अधिकारी मात्रै स्थायी दरबन्दीका शिक्षक हुनुहुन्छ भने एकजना राहत दरबन्दीका शिक्षक हुनुहुन्छ । यस्तै एकजना निजी श्रोतका शिक्षक हुनुहुन्छ । २२ जना विद्यार्थी आवासीय सुविधामा अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समिति पुनर्गठनपछि विद्यार्थीको आवासमा पानी तताउने सोलार प्यानल जडानको कार्य भएको छ । विद्यालयको सरसफाई, भान्छाको व्यवस्थापन, विद्यार्थीको दैनिकी व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष थापा बताउनुहुन्छ ।