मन्त्रीपरिषद् बैठकमा सहभागी मुख्यमन्त्रीसहित मन्त्रीहरु । फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश निजामती ऐन २०७९ अनुसार ५ जना कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ५ जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले शिक्षा सेवाबाट एकजना र स्वास्थ्य सेवाबाट ४ गरी ५ जनालाई ११ औँ तहमा बढुवा गरेको छ । प्रदेश निजामती कर्मचारी ऐन २०७९ अनुसार ११ औँ तहका कर्मचारी प्रदेश सचिव हुने व्यवस्था रहेको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्यतर्फ दीपक तिवारी, वसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

यसअघि नै प्रदेशको मन्त्रिपरिषद् बैठकले निर्णय गरी उहाँहरूलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, अदालतमा मुद्दा परेपछि बढुवा प्रक्रिया रोकिएको थियो । रिट निवेदन खारेज भएसँगै मन्त्रिपरिषद् बैठकले ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको हो । मन्त्रिपरिषद् बैठकले शिक्षा सेवा तर्फका दीपेन्द्र सुवेदीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले बहुवर्षीय योजना र ठेक्कालाई व्यवस्थापन गर्न बागमती प्रदेश आयोजनाको बहुवर्षे ठेक्का मापदण्ड २०८० कार्यविधि स्वीकृत गरेको छ ।