मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरव्याजीविरुद्ध ४१ वटा निवेदन दर्ता भएको छ । दर्ता भएको निवेदनमा ९ वटा जिल्ला प्रशासन कार्यालयबाट मिलापत्र भएर गएका छन् भने १३ वटा मुद्दा कार्यालयमा रहेको र २२ वटा अदालतमा मुद्दा चलिरहेको छ ।

कार्यालयमा दर्ता भएको ४१ मुद्दामा १५ करोड ३९ लाख ९७ हजार रकम मिटरब्याजमा कारोबार भएको छ । कार्यालयबाट ९ वटा निवेदनको ४८ लाख २० हजार रकमको मिलापत्र भएर गएको कार्यालयले जनाएको छ ।

सरकारले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडितका लागि सहायता कक्षको स्थापना गरेको छ । जिल्लामा १४ करोड ९१ लाख ७७ हजार रकम बराबरको कारोबार रकमको मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ । जसमा १० करोड १६ लाखको ४ वटा मुद्दा ठूलो रकमको रहेको छ ।

जिल्ला प्रशासान कार्यालयले मुद्दा फछ्र्यौटका लागि समन्वय गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘केन्द्रमा भएको मिटरब्याज आयोगले कडारुपले कारबाही गर्न सक्छ, हामीसँग सामान्य मेलमिलाप गर्ने अधिकारमात्र हुन्छ । हामी मेलमिलाप गरेर पाठाउँछौँ । कारोबारवालाहरु अदालतमा गएर फेरि मुद्दा हाल्छन्, मिटरव्याजको समस्या उस्तै रहेको छ । सामान्य मेलमिलाप गराइरहेका छौँ ।’

मिटरब्याज पीडित भनेर आउने र कुनै प्रमाण नहुँदा मेलमिलाप गराउन समस्यासमेत आउने गरेको चापागाईंको भनाइ छ । मेलमिलाप गराएको आरोपमा केही समयअघि जिल्ला अदालतमा कार्यालयविरुद्घ मुद्दा नै परेको थियो । मिटरब्याजसम्बन्धी मुद्दा तराईका जिल्लामा धेरै हुने गरेको छ ।