हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले हेटौंडामा आयोजना गर्न लागेको खेलकुद तथा व्यापार मेलाप्रति मकवानपुर उद्योग वाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले व्यापार महोत्सव स्थगित गर्न भन्दै जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई आइतबार ध्यानाकर्षणपत्र बुझाएको हो ।
खेलकुद मेलामा खेलकुदसम्बन्धी क्रियाकलापमात्र हुनुपर्नेमा व्यापारिक महोत्सव हुन लागेको उनीहरुको भनाइ रहेको छ । व्यवसायीहरुको विभिन्न छाता संगठनहरुले यसअघि व्यापारिक महोत्सव रोक्न हेटौंडा उपमहानगरपालिकालाई पनि ध्यानाकर्षण गराएको र कुनै निष्कर्षमा नपुगेको बताइएको छ ।
आर्थिक मन्दीलगायतका विभिन्न चुनौती चलिरहेको समयमा हेटौंडाका स्थानीय व्यवसायीहरुलाई असर पर्नेगरी उक्त व्यापारिक मेला गर्न लागिएकाले महोत्सव रोक्नुपर्ने संघको माग रहेको छ । २०७६ मंसिर १० गते गृह मन्त्रालयको परिपत्रअनुसार व्यापारिक मेला उद्योग वाणिज्य संघले मात्र गर्न पाउने व्यवस्थाअनुसार मेला रोक्नुपर्ने संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताउनुभयो । महोत्सवले जिल्लाको व्यावसायिक वातावरण बिग्रन सक्ने र त्यसबाट उत्पन्न हुनसक्ने असरको पूर्ण जिम्मेवारी आयोजक स्वयम्को हुनेसमेत संघले जनाएको छ ।
संघ अध्यक्ष गुप्ताको नेतृत्वमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, वस्तुगत समितिका उपाध्यक्ष राजु अधिकारी, एसोसिएट उपाध्याक्ष उज्वल चौलागाई, महासचिव दीपककुमार उप्रेती र कार्यसमिति सदस्य दिवस पराजुलीको उपस्थितिमा ध्यानाकर्षणपत्र बुझाइएको थियो ।











