हेटौंडाः बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ । आइतबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा बैठक बसेको थियो ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकपश्चात् मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वानका लागि सभामुख पाठकलाई आग्रह गर्नुभएको थियो । बैठकमा संसदीय सभापति चयन, प्रदेशसभाको हिउँदे अधिवेशन र बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयनका विषयमा छलफल गर्ने भनिएकोमा बैठक बिना निष्कर्ष सकिएको हो । दिउँसो ३ घण्टासम्म चलेको बैठक कुनै निष्कर्ष बिना सकिएको छ ।
प्रदेशसभामा रहेका समितिका सभापतिको टुङ्गो लगाउनु पर्नेमा बजेटका विषयमा छलफल गर्दै निष्कर्षविहीन बैठक सकिएको हो । बैठकमा छलफल सुरु हुनासाथ विपक्षी दलहरुले सरकारले आफूसँग गरेका सहमति कार्यान्वयनको माग गरेका थिए । सहमति कार्यान्वयनको चरणमा नगएसम्म अन्य विषयमा छलफल हुन नसक्ने भन्दै एमाले र राप्रपाले अडान राखेका छन् ।
बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सरकारको समस्यालाई बुझेर सहमतिमा आउन आग्रह गर्दै भएकै योजनामा बजेट माग गर्न प्रतिपक्षलाई आग्रह गर्नुभयो । विपक्षीले आफ्नो अडान नछाडेपछि बैठक निष्कर्षविहीन नै सकिएको छ ।
बैठकमा सत्तारुढ माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित प्रमुख सचेतक रत्नप्रसाद ढकाल, कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा, सचेतक गोविन्द लम्साल, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता कृष्णप्रसाद शर्मा खनाल, हाम्रो नेपाली पार्टीका दलका नेता शैलेन्द्रमान बज्राचार्य सहभागी हुनुहुन्थ्यो । त्यसैगरी प्रमुख प्रतिपक्ष नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया, मुख्य सचेतक मधुसुदन पौडेल, सांसद केशवप्रसाद पोखरेल, राप्रपाका दलका नेता उद्धव थापा र कुमारी तामाङको सहभागिता रहेको थियो ।