गुगल तस्विर ।

हेटौंडाः छैटौँ संस्करणको हेटौंडा उपमहानगरपालिकास्तरीय उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत् महिलातर्फ वडा नम्बर ९ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार हेटौंडा–१९, नेवारपानीमा भएको सेमिफाइनल खेलमा वडा नम्बर १४ लाई ३–० को सोझो सेटले हराउँदै वडा नम्बर ९ फाइनलमा प्रवेश गरेको हो ।

फाइनल प्रवेश गरेको वडा नम्बर ९ ले उपाधिका लागि शनिबार वडा नम्बर १७ र १२ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार दोस्रो सेमिफाइनलअन्तर्गत् वडा नम्बर १७ र १२ को खेल रात परेपछि शनिबार खेलाउने गरी स्थगित गरिएको हो । खेलमा वडा नम्बर १७ ले १२ विरुद्ध २–१ सेटको अग्रता बनाएको थियो । शनिबार त्यही सेटबाटै खेल सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत महिलातर्फ जम्मा ७ वटा वडाको टिमको मात्र सहभागिता रहेको थियो ।

पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा

प्रतियोगिताअन्तर्गत् पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार भएको क्वाटरफाइनल खेलमा वडा नम्बर ५ ले वडा नम्बर ६ लाई २–१ सेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । यस्तै वडा नम्बर १७ ले १० लाई २–० सेटले, १९ ले १२ लाई २–१ को सेटले र ११ नम्बर वडाले १६ लाई २–० को सोझो सेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको वडा नम्बर ५ टिमका संयोजक नरेन्द्र मोक्तानले बताउनुभयो ।

पुरुषतर्फको सेमिफाइनल खेल शनिबार बिहान हुने र फाइनल दिउँसो हुने जनाइएको छ । प्रतियोगिताअन्तर्गत् पुरुषतर्फ १२ वटा वडाका टिमको सहभागिता रहेको थियो ।

प्रतियोगताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनल प्रवेश गरेका दुई टिमले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।