हेटौंडाः मकवानपुरमा रहेका बागमती गाउँपालिका–५, झुरझुरेमा भएको निःशुल्क आँखा शिविरमा ४० जनामा मोतिविन्दु पहिचान भएको छ । बागमती गाउँपालिकाको आयोजनामा भएको शिविरमा जाँच गराएका २ सय ६० जनामध्ये ४० जनामा मोतिविन्दु देखिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख दिनेश गुप्ताले जानकारी दिनुभयो ।
शुक्रबार शिविरमा पहिचान भएका ४० जनाको आज शनिबार निःशुल्क शल्यक्रिया हुनेछ । हेटौंडा सामुदायिक आँखा अस्पताल र तिलगंगा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । गुप्ताका अनुसार तिलगंगाबाट डाक्टरलगायत १४ जनाको टोलीले शिविरमा सेवा दिएका छन् । यस्तै, बागमती गाउँपालिका–५, भोर्लेनीमा आज शनिबार निःशुल्क आँखा शिविर हुने गुप्ताले बताउनुभयो ।