निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गनुहुँदै नगर प्रमुख मीनाकुमारी लामा

हेटौंडाः केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडामा उपमेयर नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–१९, नेवारपानीमा बिहीबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको सभाध्यक्षतामा भएको हो । उद्घाटन खेलमा पुरुषतर्फ वडा नम्बर ५ र महिलातर्फ वडा नम्बर ११ विजयी भएको छ ।

वडा नम्बर ५ ले वडा नम्बर ९ लाई २–० को सोझो सेटले पराजित गरेको छ । वडा नम्बर ५ ले ९ लाई २५–१४ र २५–११ ले पराजित गरेको हो । महिलातर्फको उद्घाटन खेलमा वडा नम्बर १२ ले वडा नम्बर १० लाई २–० को सोझो सेटले पराजित गरेको छ । वडा नम्बर १२ ले १० लाई २५–१९ र २५–१२ ले पराजित गरेको हो ।

प्रतियोगितामा महिलातर्फ ७ वटा टिम र पुरुषतर्फ १२ वटा टिम गरी १९ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि विजेता टिमले ५० हजार रुपैयाँ, उपविजेता टिमले ३० हजार रुपैयाँ र सान्त्वना हुने टिमले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बिहीबार भएको खेलमा पुरुषतर्फ वडा नम्बर १९ विजयी भएको छ । वडा १९ ले वडा १७ लाई २–१ को सेटले पराजित गरेको छ । अर्को खेलमा वडा १३ ले वडा १० लाई २–१ ले पराजित गरेको छ । यस्तै, वडा नम्बर ११ र ९ बीच भएको खेलमा २–० को सोझो सेटले वडा नम्बर ९ पराजित गरेको छ । वडा नम्बर १९ ले वडा नम्बर ४ लाई २–१ को सेटले पराजित गरेको छ । यस्तै, वडा नम्बर १६ ले वडा नम्बर ६ लाई २–० को सोझो सेटले पराजित गरेको छ भने वडा नम्बर १२ ले वडा नम्बर १३ लाई २–० को सोझो सेटले पराजित गरेको छ ।
महिलातर्फको खेलमा वडा नम्बर १२ ले वडा नम्बर १४ लाई २–० को सोझो सेटले पराजित गरेको छ । वडा नम्बर ६ र १० बीच भएको खेलमा २–१ को सेटले १० नम्बर वडा पराजित भएको छ । यस्तै, वडा नम्बर १७ ले २–० को सोझो सेटले वडा नम्बर १९, वडा नम्बर १४ ले पनि २–० को सोझो सेटले वडा नम्बर १९ लाई पराजित गरेको छ । वडा नम्बर ६ र १६ बीच भएको खेलमा वडा नम्बर १६ र वडा नम्बर १२ र १३ बीच भएको खेलमा वडा नम्बर १३ २–० को सोझो सेटले पराजित भएको छ ।

लिग चरणमा भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिता आयोजनाका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खेलाडीहरुलाई खेलमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउने, खेलाडीहरुबीच भातृत्व कायम गर्ने र खेलाडीको खेल प्रतिभालाई जगाउने उद्देश्यले हरेक वर्ष प्रतियोगिताको आयोजना गर्ने गरेको जनाइएको छ । गत वर्ष जेठ महिनामा भएको पाँचौं संस्करणको प्रतियोगितामा पुरुषतर्फ वडा नम्बर ११ र महिलातर्फ वडा नम्बर १९ विजयी भएको थियो ।

प्रतियोगिताको उद्घाटनमा मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौला, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, मनहरी गाउँपालिका वडा–४ का अध्यक्ष प्रकाश थापा, हेटौंडा उपमहानगरपालिका वडा–१९ का अध्यक्ष नवराज सुवेदीलगायतको उपस्थिथि रहेको थियो ।