हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पाराम मोतिहारीका २१ वर्षीय अमित कुमार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
बिहीबार बिहान ९ बजेको समयमा प्रहरी टोलीले वीरगंजबाट नारायणघाट जाँदै गरेको बा प्र ०३–००१ ज ७९१ नम्बरको माईक्रोलाई सुरक्षाजाँच गर्ने क्रममा कुमारको साथबाट लागुऔषध फेला पारेको थियो । प्रहरीले अमित कुमारको साथबाट लागुऔषध डाईजेपाम १५० पिस, नुर्फिन १५० पिस र फेनार्गन १५० पिस बरामद गरेको थियो । लागुऔषधसहित कुमारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।