बागमती प्रदेशको राजधानी भएसँगै हेटाौंडामा खेल गतिविधि बढेको छ । वि.सं २०४० सालमा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गरेर चर्चित बनेको हेटौंडामा पछिल्लो समय प्रदेश खेलकुद प्रतियोगिताका साथै राष्ट्रियस्तरका विभिन्न फुटबल तथा भलिबल प्रतियोगितासमेत हुँदै आएको छ । खेल प्रतियोगिताको गतिलो पूर्वाधार नभए पनि हेटौंडा खेल गतिविधिका लागि उपयुक्त स्थान बन्ने सम्भावना प्रबल छ । धेरै गर्मी र जाडो नहुने उपयुक्त हावापानी र देशको मध्यभागमा रहेका कारण यहाँ राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालनको सम्भावना बढी छ । हेटौंडामा भएका र निर्माणाधीन खेल पूर्वाधारहरुले प्रतियोगिता आयोजना गर्न सहयोग पुग्दै आएको भए पनि स्तरीय खेल पूर्वाधार तयार गर्न सकेमा हेटौंडामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने कुरामा विश्वस्त बन्न सकिन्छ । यस्ता खेल प्रतियोगिता पर्याप्त सञ्चालन भएमा त्यसले यस क्षेत्रका खेलाडी र खेलप्रति रुचि राख्नेहरुलाई प्रोत्साहित गर्ने निश्चित छ ।

हेटौंडामा बुधबारबाट हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्को मुख्य सहयोगमा सुरु भएका प्रतियोगितामा नेपालसहित विभिन्न देशका करिब एक सय जना खेलाडी सहभागी भएका छन् । आइतबारसम्म हुने प्रतियोगिता स्विस लिग प्रणालीमा खेलाइएको छ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रोदेखि पाँचौंसम्म हुनेले क्रमशः ७५ हजार, ४० हजार, २५ हजार २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै छैटौँदेखि १० औँ स्थानमा रहने खेलाडीलाई जनही १५ हजार र ११ औँदेखि १५ औँ स्थानमा रहने खेलाडीलाई जनही ११ हजार रुपैयाँ पुरस्कारस्वरुप दिइनेछ । प्रतिभावान खेलाडी उत्पादन र अरु खेलाडीलाई हौसलाका लागि यस्ता प्रतियोगिता हुनुलाई सकारात्मकरुपमा लिनुपर्छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न खेल गतिविधि सञ्चालन, खेल पूर्वाधार निर्माण र प्रतियोगिता आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । वर्षेनि प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको परिषद्ले आगामी फागुनमा अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पछिल्लो समय खेल क्षेत्रको विकासका लागि राज्यका सबै तहमा खेलकुद समितिहरु सक्रिय बनिरहेका छन् । केन्द्रीय स्तरमा राष्ट्रिय खेलकुद परिषद् रहेको छ भने प्रदेशस्तरमा प्रदेश खेलकुद विकास परिषद् क्रियाशील छ । यस्तै, सबै जिल्लामा जिल्ला खेलकुद विकास समितिसँगै स्थानीय तहमा गाउँ÷नगर खेलकुद विकास समिति गठन गरिएको छ । यी समितिहरुका साथै सबै खालका खेलहरुको अलग–अलग संघहरु छन् । त्यस्ता संघहरु पनि केन्द्र, प्रदेश र जिल्ला तहमा क्रियाशील बनिरहेका छन् । मकवानपुर जिल्लामा पनि फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, उसु, बुद्धिचाल, रग्बी, एथलेटिक्सलगायतका खेल संगठनहरु सम्बद्ध खेलको प्रवद्र्धन, खेलाडी उत्पादन, खेल प्रतियोगिता सञ्चालन र सहभागितामा सक्रिय बनिरहेका छन् । हेटौंडा–५ को पिप्ले क्याम्पा रंगशाला, हेटौंडा–१६ को गौरीटार रंगशाला, विभिन्न खेलसम्बद्ध कभर्डहलहरुको निर्माणले खेल प्रतियोगिता तथा अभ्यासका लागि सहज बनिरहेको छ । यस्तै, हुप्रचौर, फरेष्ट्री चौर, औद्योगिक क्षेत्रको चौरलगायतमा पनि खेल अभ्यास तथा प्रतियोगिता हुने गरेका छन् ।

देशको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याउने खेलकुदले नागरिकको शारीरिक स्वस्थता कायम राख्न सहयोग पुग्छ । खेलकुदको माध्यमबाट अनुशासन, व्यक्तित्व तथा नेतृत्व विकास, सामाजिक सद्भावसमेत कायम गर्न मद्दत पुग्दछ । खेलकुदका विभिन्न कार्यक्रम तथा प्रतियोगिताले खेलाडीलाई खेलप्रति आकर्षिक गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्दछ । हेटौंडामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेल प्रतियोगिता हुँदा यस क्षेत्रको व्यापार, व्यवसायमा पनि सकारात्मक प्रभाव पर्दछ । अन्य पूर्वाधारसँगै खेल क्षेत्रको विकासलाई पनि प्रदेश तथा स्थानीय सरकारले पर्याप्त लगानी गर्नु आवश्यक छ । खेलकुदको माध्यमबाट आर्थिक, सामाजिक विकास गर्दै समृद्ध बनाउन बढीभन्दा बढी खेल प्रतियोगिता आयोजना हुनुपर्छ ।