हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चालक भीमबहादुर स्याङ्तानको पनि मृत्यु भएको छ । यसअघि दुर्घटनामा परी भीमबहादुरकी श्रीमति रुपा र ५ महिनाकी छोरीको मृत्यु भएको थियो ।
बिहिबार दिउँसो १ बजेको समयमा सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मकवानपुरगढी–२ धवाडीपुलबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा मकवानपुरगढी–२, कुर्लेपाखाकी ३४ वर्षीया रुपा स्याङ्तान र रुपाकी ५ महिनाकी छोरीको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ३५ वर्षीय भीम बहादुर स्याङ्तानलाई हेटौँडा अस्पतालबाट भरतपुर रेफर गरिएको थियो । भरतपुर लैजाँदै गर्दा बाटोमै बिहिबार दिनको ४ बजेर २० मिनेटको समयमा भीमबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।