हेटौंडाः बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको एक सय दिन पूरा भएको छ । मन्त्री चित्रकारको एक सय दिनको कार्यकाल ऐन, निर्देशिका, कार्यविधि र नीति निर्माण तथा संशोधनको तयारीमा बितेको छ ।

बुधबार नयाँ मन्त्रालयको कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री चित्रकारले एक सय दिनमा गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो । भदौ ३ गते मन्त्री चित्रकारले बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।

मन्त्री भएपश्चात् प्रदेशको उद्योग प्रशासन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन औद्योगिक व्यवसाय ऐन तथा प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन निर्माणको प्रक्रिया सुरु गरिएको मन्त्रालयका सचिव गोविन्द रिजालले जानकारी दिनुभयो । प्रदेशस्तरीय संयुक्त बजार अनुगमन निर्देशिका २०७५ लाई विस्थापन गरी प्रदेशस्तरीय संयुक्त बजार व्यवस्थापन अनुगमन निर्देशिका, २०८० पनि मन्त्रिपरिषदबाट स्वीकृतिको अन्तिम चरणमा नै रहेको छ ।

मन्त्री चित्रकारले मन्त्रालयको जिम्मेवारी लिएपश्चात्् मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत भएको छ । मन्त्रालयले चाडपर्वको समयमा १ हजार ५ सय १३ वटा व्यापारिक फर्महरुको अनुगमन गरी ६ लाख बराबरको जरिवाना र ४ लाख बराबारको म्याद नाघेका सामग्रीहरु नष्ट गरेको बताइएको छ ।

यस्तै, प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा दर्ता भएको छ । मन्त्री चित्रकारले प्रदेश सरकार उद्योग नीति निर्माणको चरणमा रहेको जानकारी दिँदै प्रदेश सरकार उद्योग, व्यापार, व्यवसायमा प्रोत्साहनमा लागेको बताउनुभयो । प्रदेशमा आर्थिक उपार्जन हुने काममा जोड दिँदै मन्त्रालय अगाडि बढेको उहाँले बताउनुभयो ।