हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले स्वास्थ्य शिक्षा खुला गर्ने बताउनुभयो । बुधबार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
स्वास्थ्य शिक्षा अध्ययनका लागि धेरै मानिस हुने र कोटा कम हुने भएकाले महंगो शुल्क तिरेर अध्ययन गर्नुपर्ने समस्या रहेको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । महंगो शुल्कको समस्या समाधान गर्न बागमती प्रदेश सरकारले स्वास्थ्य शिक्षा अध्ययनका लागि निश्चित रकम निर्धारण गरी निजी क्षेत्रलाई अध्यापन अनुमति दिने उहाँले बताउनुभयो ।
विगतका दिनमा प्रदेश सरकारले कृषिको लगानी मोडल व्यक्तिकेन्द्रित रहेकोमा अहिले प्रदेशले समुदाय, कृषक र उत्पादनमा आधारित कृषि योजना ल्याउने चरणमा रहेको बताउनुभयो । प्रदेश सरकारले बजेटको मोडेल परिवर्तन गरेको मुख्यमन्त्री जम्कट्टेलले दाबी गर्नुभयो । ‘प्रदेश सरकारले अहिले उत्पादनमा जोड दिएको छ, सार्वजनिक खर्च कटौतीमा लागेको छ’, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो ।
प्रदेश सरकारले स्थायी संरचना निर्माण गर्न नसक्दा भाडामा बस्नुपरेको बताउँदै संरचना निर्माणका लागि जग्गा प्राप्तीको चरणमा रहेको उहाँले बताउनुभयो । प्रदेश सरकार आफ्नै भवनमा राख्ने काम भइरहेको जानकारी गराउँदै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो– ‘मुख्य न्यायाधीवक्ताको कार्यालय आफ्नै कार्यालयमा सार्ने काम भएको छ, अन्य सरकारी निकायका कार्यालय पनि सरकारी कार्यालयमा नै सार्ने काम भएको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारले उत्पादनमा धेरै लगानी गर्न नसकेको बताउनुभयो । प्रदेशमा उत्पादित भन्दा आयातित सामग्रीलाई बढी जोड दिएको देखिएको बताउँदै, उहाँले भन्नुभयो– ‘हामीले मलेशियाबाट काठ ल्याउँछौ, यहाँ भएको काठ कुहिएर गएको छ । कानुन राम्रो नहुँदा बाहिरबाट आयातित वस्तुको प्रयोग गर्नुपरेको छ । हामीसँग उत्पादन भएको कच्चा पदार्थ महंगो पर्न जान्छ, अन्य मुलुकबाट आयात गर्दा सस्तो परेको छ ।’ प्रदेश सरकारले आगामी दिनमा उद्योग र उत्पादनमा जोड दिने उहाँले बताउनुभयो ।