हेटौंडाः जाडो बढ्नासाथ हेटौंडाका थुप्रै मानिहरुमा रुघाखोकीको समस्या देखिन थालेको छ । एक हप्ता अघिदेखि सुरु भएको मध्यम जाडोका कारण हेटौंडा अस्पताललगायतका अस्पतालहरुमा रुगाखोकीका बिरामीहरुको चाप बढ्दै गएको छ । मानिसलाई धेरैजसो चिसो र मौसम परिवर्तन हुने समयमा रुघा लाग्ने गर्दछ ।

हेटौंडा अस्पतालको नाक, कान, घाँटीरोग विभागमा अहिले रुघाखोकीका बिरामी बढेको अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ डा. अनुप सञ्जेलले जानकारी दिनुभयो । नाक, कान, घाँटी विभागमा रुघाखोकीका साथै टन्सिलका बिरामीसमेत बढेका छन् ।

मौसम बदलिनासाथ अस्पतालमा रुघाखोकीको बिरामीहरु पहिलाभन्दा बढी देखिन थालेको हो । हेटौंडामा बढेको प्रदूषण र जनसंख्याका कारण यसवर्ष धेरै बिरामीमा रुघाखोकीको समस्या देखिएको डा. सञ्जेलले बताउनुभयो ।

हेटौंडा अस्पतालमा बिरामीहरु ९० प्रतिशत भाइरल र १० प्रतिशत ब्याक्टेरियाले आउने गरेका डा. सञ्जेलले बताउनुभयो । डा. सञ्जेलका अनुसार जाडोमा बन्द कोठामा हिटर बालेर बसेमा अक्सिजन प्राप्त नहुँदा ठूलो समस्या आउन सक्छ । मौसमी रुघाबाट बच्नका लागि व्यक्तिगत सरसफाइ, वातावरण स्वच्छताका साथै जनचेतनासमेत जगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

पटकपटक हात धुने, नङ नटोक्ने, प्रतिरक्षा प्रणाली बढाएमा रुघाखोकीबाट बच्न सकिने डा. सञ्जेलले बताउनुभयो । रुघा लागिहालेमा डाक्टरसँग जाँच गर्ने, मास्क लगाएर बस्ने, आफूले छोएको ठाउँमा सरसफाइ गर्ने, खोक्दा रुमालको प्रयोग गर्ने र जथाभावी औषधी नखाने उहाँले आग्रह गर्नुभयो ।

हेटौंडा अस्पतालको नाक, कान, घाँटी विभागमा पहिले ८० जनाजति बिराम आउने गरेकोमा अहिले दैनिक सय जनाभन्दा बढी बिरामी आउने गरेको डा. सञ्जेलले बताउनुभयो । अस्पतालमा रुघाखोकीका साथ टन्सिल, दम र फाट्टफुट्ट क्यान्सरका बिरामी आउने गरेका छन् । हेटौंडा अस्पतालमा अहिले डा. सञ्जेलका साथ डा. श्लेष्मा रिजाल, डा. सुमन बर्तौला र डा. इन्कलाव ढुङ्गानाले नाक, कान, घाँटीरोग विभागबाट सेवा प्रदान गरिरहनुभएको छ । अस्पतालमा आइतबार र बुधबार नाक, कान, घाँटीको शल्यक्रिया हुने गरेको छ ।