रिगल हेटौंडा रिसोर्ट।

हेटौंडाः स्वर्गीय सुदर्शन घिमिरे स्मृति फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । सोमबार सेमीफाइनल चरणको खेल सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको हो ।

एफसी मुण्डियाल क्लबको आयोजनामा भएको प्रतियोगिता उपाधिका लागि आज बुधबार रिगल हेटौंडा रिसोर्ट र रियल स्टार क्लब भिड्दैछन् । सोमबार हेटौंडा–५, पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्टले नवजनजागृति युवा क्लब सिमरालाई टाइबे्रकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो भने दास्रो सेमिफाइनल खेलमा रियल स्टार क्लबले अखिल नेपाल खेलकुद महासंघ बागमती गाउँपालिकालाई टाइबे्रकरमै ५–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यसअघि भएको क्वाटरफाइनल खेलमा रिगल हेटौंडा रिसोर्टले न्यु डाँफे युथ क्लबलाई ३–० गोल अन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको थियो । रियल स्टार क्लबले हेटौंडा फुटबल एकेडेमीलाई टाइबे्रकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।