हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अस्पतालको लागि जग्गाको अभाव रहेको छ । इन्द्रसरोवर गाउँपालिकामा जग्गा नपाएका कारणले अस्पताल बनाउन समस्या आइरहेको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभयो ।

इन्द्रसरोवर गाउँपालिकामा जग्गा उपलब्ध नभएको कारण अस्पताल बनाउन नपाएको पुडासैनीले बताउनुभयो । गाउँपालिकाले अहिले सार्वजनिक र लालपुर्जा भएको जग्गा खोजिरहेको छ । पुडासैनीका अनुसार यो वर्ष जग्गा उपलब्ध भए अर्को वर्ष पालिकाले अस्पताल बनाउनेछ ।

इन्द्रसरोवर गाउँपालिकाका बासिन्दाहरुले बिरामी भएपछि स्वास्थ्यचौकी जाने गरेका छन् । सामान्य जाँच गर्ने बिरामी स्वास्थ्यचौकी जाने गरेका छन् भने जटिल बिरामीलाई स्वास्थ्यचौकीले सुविधा र आवस्था हेरी रिफर गर्ने गरेको पुडासैनीले बताउनुभयो ।

मकवानपुरकै कैलाश गाउँपालिकामा अस्पताल निर्माण भइरहेको छ । ३ वर्षदेखि निर्माण भइरहेको अस्पताल आर्थिक समस्याले पूर्ण निर्माण नभएको कैलाश गाउँपालिकाका शाखा प्रमुख जगरनाथ साहले जानकारी दिनुभयो । साहका अनुसार स्वास्थ्य मन्त्रालयले रकम नपठाएको कारणले निर्माण पूरा गर्न नसकेको बताउनुभयो ।

कैलाश गाउँपालिकामा अस्पतालबाहेक १० वटा स्वास्थ्यचौकी रहेको छ । गाउँपालिकाका बिरामीहरु स्वास्थ्य चौकीमा सामान्य जाँच गर्न जाने गरका छन् भने जटिल अवस्थामा हेटौंडाका अस्पताल वा पालुङ पठाउने गरेको साहले बताउनुभयो ।

यस्तै, बागमती गाउँपालिकामा पनि अस्पताल निर्माणको क्रममा रहेको छ । गत आर्थिक वर्षदेखि निर्माण सुरु भएको अस्पताल अर्को वर्षबाट सञ्चालनमा आउने बागमती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताले जानकारी दिनुभयो ।

गाउँपालिकामा अस्पताल निर्माण सुरु हुनअघि स्वास्थ्यचौकीमा मेडिकल अफिसर डा. विजय गुप्ताले बिरामीलाई सेवा दिने गरेको उहाँले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख गुप्ताका अनुसार बागमती गाउँपालिकाका धेरै बासिन्दाहरुमा संक्रमण र छालाको समस्या देखिने गरेको छ ।