हेटौंडाः मकवानपुरमा डेंगु संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार मकवानपुरमा साउन एकदेखि बिहीबारसम्म ७ सय ६५ जनामा डेंगु पुष्टि भएको छ ।
कार्यालयले दैनिक पठाउने तथ्याङ्कअनुसार बिहीबार हेटौंडा उपमहानगरपालिकाका एकजना बासिन्दामा डेंगु पुष्टि भएको छ । साउनदेखि सुरु भएको डेंगु संक्रमण कार्तिकदेखि कम हुँदै आइरहेको छ ।
मकवानपुर जिल्लामा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका बासिन्दामा डेंगु पुष्टि भएको छ । साउन महिनादेखि बिहीबारसम्म हेटौंडा उपमहानगरपालिकाका ५ सय ३० जनामा डेंगु पुष्टि भइसकेको छ । यस्तै, हालसम्म थाहा नगरपालिकाका ३, मकवानपुरगढी गाउँपालिकाका २०, बागमती गाउँपालिकाका २४, मनहरी गाउँपालिकाका ६८, इन्द्रसरोवर गाउँपालिकाका ४, भीमफेदी गाउँपालिकाका ३७, बकैया गाउँपालिकाका २५ र राक्सिराङ गाउँपालिकाका २ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।
हेटौंडा अस्पतालका डा. कमल दवाडीका अनुसार तिहारमा डेंगु सक्रमण थप भएको थियो भने अहिले डेंगु कम हुँदै आइरहेको छ । जाडो बढेको र लामखुट्टे कम भएको कारण डेंगु कम हुँदै गएको उहाँले जानकारी दिनुभयो । गतवर्ष जस्तो यसवर्ष धेरै मानिसमा डेंगु संक्रमण भएको थिएन । अहिले हेटौंडा अस्पतालमा समेत डेंगु जाँच गर्ने बिरामी फाट्टफुट्ट आउने गरेको डा. दवाडीले बताउनुभयो