फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार दुई स्थानमा निःशुल्क आँखा शिविर भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका र रौतहट जिल्लामा भएको निःशुल्क आँखा शिविरमा ६३ जनामा मोतिविन्दु पहिचान भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको शिविरमा जाँच गराएका १ सय ४३ जनामध्ये २३ जनामा मोतिविन्दु पहिचान भएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राममान थिङले जानकारी दिनुभयो । मोतिविन्दु पहिचान भएका २३ जनाको ९ गते तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुनेछ । थिङका अनुसार मोतिविन्दुबाहेक अरु बासिन्दामा धेरै सुख्खा आँखाको समस्या देखिएको थियो । भीमफेदी गाउँपालिकाको स्थानीय सहयोग रहेको शिविरमा धेरै ज्येष्ठ नागरिक आउनुभएको थिङले बताउनुभयो ।

यस्तै, रौतहट जिल्लामा जाँच गराएका १ सय ८५ जनामध्ये ४० जनामा मोतिविन्दुको समस्या देखिएको हेटौंडा आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक कृष्णराज ढुङ्गानाले जानकारी दिनुभयो । कृष्ण प्रणामी युवा परिषद् संघ नेपालको आयोजनामा भएको शिविरमा मोतिविन्दु पहिचान भएका ४० जनाको शल्यक्रियाा ८ गते हुने ढुङ्गानाले बताउनुभयो । ढुङ्गानाका अनुसार शिविर युवा स्वरोजगार कृषि सहकारी संस्था चन्द्रपुरमा भएको थियो ।