हेटौंडाः हेटौंडा–१, राप्तीतटमा रहेको तरकारी बजारमा रायोको साग र केराउ कोसाको मूल्य घटेको छ । बुधबार तरकारी थोक बजारमा रायोको साग र केराउ कोसाको मूल्य घटेको हो ।

चिसो बढेका कारण तरकारी लामो समयसम्म नकुहिने भएकाले तरकारीको व्यापार कम भएको तरकारी व्यापारी राजेन्द्र कार्कीले जानकारी दिनुभयो । मागभन्दा बढी तरकारी बजारमा आएकाले तरकारीको मूल्य घटेको उहाँले बताउनुभयो ।

बुधबार थोक बजारमा रायोको साग प्रतिमुठा ५ देखि १० रुपैयाँमा र केराउ कोसा प्रतिकेजी ७० देखि ८० रुपैयाँमा बिक्री भएको थियो । यसअघि रायोको साग प्रतिमुठा ३० देखि४० रुपैयाँ र केराउ कोसा प्रतिकेजी १२० देखि १४० रुपैयाँमा बिक्री भएको थियो ।

बुधबार काउलीको थोक मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँ र बन्दाकोभीको थोक मूल्य प्रतिकेजी ३० देखि ३५ रुपैयाँ रहेको व्यवसायी कार्कीले बताउनुभयो । तरकारी थोक बजारमा बुधबार माछे खुर्सानी ६० रुपैयाँ, गाजर ४० रुपैयाँ, पिँडालु ५० रुपैयाँ, मुला २५ रुपैयाँ र इस्कुस ८ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, प्रतिकेजी भेडे खुर्सानी ६० रुपैयाँ, धनिया ५० रुपैयाँ, गोलभेँडा ३० रुपैयाँ, लौका २० रुपैयाँ, लामो बोडी २० रुपैयाँ, मकै बोडी ३० देखि ४० रुपैया, आलु ४० रुपैयाँ र बरेला ३० रुपैयाँमा थोक बिक्री भएको थियो ।