हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–२ मा कुपोषण भएको बालक फेला परेको छ । राक्सिराङ गाउँपालिकाको स्वास्थ्य संस्थाले मंगलबार गाउँपालिकाकै वडा नम्बर २ बाट एक कुपोषण भएको बालक भेटेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार कार्तिक १७ र १८ गते स्वयमसेविकाहरुले भिटामिन ए र जुकाकोे औषधी खुवाएको रिपोर्ट आएपछि मंगलबार स्वास्थ्य संस्थाले घर भ्रमण गर्दा कुपोषित बालक फेला परेको हो । स्वास्थ्य संस्थाले बालकको मध्यपाखुराको नाप लिँदा १ सय २५ हुनुपर्नेमा बालकको नाप जम्मा ८१ रहेको कार्कीले बताउनुभयो । स्वास्थ्य संस्थाले बालकको परिवारलाई स्वास्थ्य चौकी बोलाई तौल लिँदा बालक जम्मा २ दशमलब ७ केजी रहेको पाइएको हो ।
७ महिनाको बालकको तौल कम्तिमा ६ दशमलब ८ केजी हुनुपर्ने कार्कीले बताउनुभयो । बालकको परिवारको आर्थिक अवस्था कमजोर रहेको र धामीझाँक्रीमा भरोसा राख्ने भएकाले बालकको राम्रोसँग जाँच नभएको हो । राक्सिराङ गाउँपालिका–२ मा पहिलो पटक कुपोषण भएको बालक फेला परेको कार्कीले बताउनुभयो । कार्कीका अनुसार बालकलाई स्वास्थ्य चौकीले हेटौंडा अस्पताल रिफर गरेको छ ।