हेटौंडाः मकवानपुरका बक्सिङ प्रशिक्षक लालबहादुर पौडेल अर्मेनियाको येरेभान प्रस्थान गर्नुभएको छ । सोमबार आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपालका एक जना खेलाडी लिएर प्रशिक्षक पौडेल अर्मेनिया प्रस्थान गर्नुभएको हो ।
च्याम्पियनसिपमा सहभागी हुन राष्ट्रिय बक्सिङ प्रशिक्षकसमेत रहनुभएका पौडेल र एक खेलाडीसहित २ सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमका बीच बिदाई गर्नुभएको थियो ।
नेपालका नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिप खेल्नेछन् । नोभेम्बर २३ देखि डिसेम्बर ४ तारिखसम्म हुने १६ वर्षमुनि उमेर समूहको प्रतियोगितामा नेपालका नुर्बुले खेल्ने भएका हुन् । नुर्बुले पुरुष ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।