विश्व प्रतिजैविक प्रतिरोध सचेतना कार्यक्रममा सहभागिहरु ।

हेटौंडाः मंसिर २ गतेदेखि ८ गतेसम्म विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा विविध कार्यक्रम भइरहेको छ । सचेतना सप्ताहको अवसर पारेर मंगलबार स्वास्थ्य कार्यालय मकवानपुरले पत्रकारलगायत सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा विश्वमा बहुऔषधि प्रतिरोधी जीवहरूका कारण ३ मिनेटमा एक जनाको मुत्यु हुने गरेको स्वास्थ्य कार्यालयकी डा. सबिता पौडेलले जानकारी दिनुभयो । डा. पौडेलका अनुसार बहुऔषधि प्रतिरोधी जीवहरूको रोकथाम नभए २०५० सम्म ३ सेकेन्डमा एक जनाको मुत्यु हुनसक्ने अनुमान लगाइएको छ । विश्वमा ७ लाखभन्दा बढी मानिसहरुको प्रतिजैविक प्रतिरोधका कारण मुत्यु भएको अनुमान छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा भएको कार्यक्रममा डा. पौडेलले प्रतिजैविक प्रतिरोध दश विश्वव्यापी सार्वजनिक स्वास्थ्य खतरामध्ये एक रहेको बताउनुभयो । मानव स्वास्थ्य, पशुपालन, माछापालन र कृषिमा एन्टिबायोटिकको दुरुपयोग र अत्यधिक विषादीहरु प्रतिजैविक प्रतिरोधका कारण रहेको उहाँको भनाइ छ । नेपाली बजारमा करिब ३ सय ६५ ब्रान्डका एन्टिबायोटिक उपलब्ध छन् भने देशभित्र करिब ५० कम्पनीले एन्टिबायोटिक उत्पादन गर्ने गरेको डा. पौडेलले बताउनुभयो ।