हेटौँडाः हेटौँडा स्पोर्टस् मुण्डियालको आयोजनामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुँदैछ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने आजको पहिलो खेलमा न्यु डाँफे युथ क्बल र पदमपोखरी फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा दिउँसो ३ बजे रिगल हेटौंडा रिसोर्ट र थाहा नगरपालिकाको टिमबीच प्रतिस्पर्धा हुनेछ । दुई खेलका विजयी दुई टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । मंगलबार भएको पहिलो उद्घाटन खेलमा हेटौँडा–७ नागस्वतीस्थित नागस्वती युवा क्लबलाई हराउँदै नवजागृतीले विजयी सुरुवात गरेको थियो ।
१४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।











