
हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको तीन दिने घरदैलो अभियान सम्पन्न भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएको एक वर्ष पुरा भएको अवसरमा रास्वपाले देशव्यापी रुपमा शनिबारबाट सुरु गरेको घरदैलो कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
घरदैलो अभियान अन्तर्गत रास्वपा मकवानपुरले जनताको घरघरमा पुगेर उनीहरुको गुनासो सुन्ने र सुझाव लिने काम गरेको छ । रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले तीन दिने अभियानमा जनताको घरघरमा पुगेर उनीहरुको गुनासो सुनेको र महत्वपूर्ण सुझावहरु आफुहरुले लिएको बताउनुभयो । प्रतिनिधिसभा सदस्य विन्दवासिनी कंशाकारसहितको रास्वपा नेता, कार्यकर्ताको सहभागितामा भएको घरदैलो अभियानका क्रममा जनताहरुले विकास निर्माण कार्यहरु हुन नसकेको गुनासोहरु सुनाएको उहाँले बताउनुभयो । अहिले घरदैलो अभियानका क्रममा जनताको घरमा पुग्दा उनीहरु पीडामा रहेको उहाँले बताउनुभयो । मकवानपुरको कैलाश र राक्सिराङका विकट क्षेत्रहरुमा पुग्दा त्यहाँका जनताहरुले बाटो र खानेपानी लगायतका समस्या रहेको बताएको उहाँले बताउनुभयो ।
भौगोलिक विकटताका कारण थोरै घर परिवारका लागि सरकारले ठुलो योजनाका काम नगर्दा यस्तो समस्या भएको उहाँको भनाई छ । यस क्षेत्रमा अन्य बालीनालीभन्दा गाँजा उत्पादन नै राम्रो हुने भएकोले गाँजा खेती वैधानिकताका लागि सरकारलाई दवाव दिन आफुहरुलाई आग्रह गरेको उहाँले बताउनुभयो । हरेक वर्ष प्रहरीले गाँजा खेतीलाई फँडानी गरेर हैरानी बनाएको जनताहरुले गुनासो गरेका थिए । अन्य रोजगारीका कुरा नभएपछि तत्काल बाटो लगायत अत्यावश्यक विकास निर्माणका काम गर्न पहल गर्न जनताहरुले आग्रह गरिएको थियो ।
यस्तै थाहा नगरपालिकाका जनताहरुले थाहालाई पर्यटकीय नगरीका रुपमा विकास गर्न पहल गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । थाहामा पर्यटकीय सम्भावना बोकेका धेरै ठाउँहरु भएपनि विकासका कार्यहरु र प्रचारप्रसार हुन नसक्दा पछि परेको त्यहाँका जनताहरुले गुनासो गरेका थिए । यस्तै उहाँले बजार क्षेत्रका जनताले शिक्षा निशुल्क बनाउन र स्वास्थ्य क्षेत्रका बेथिति हटाउनुपर्ने लगायतका गुनासो आएको बताउनुभयो ।
सबैजसो जनताहरुले रास्वपाले अहिलेसम्म कुनै पनि प्रतिष्ठा गुमाउने खालका काम नगरेकाले सधै राम्रो काम गर्न सुझाव दिएकोे उहाँले बताउनुभयो । अहिले रास्वपाले सरकारलाई प्रतिपक्षमा बसेर सहीसँग ध्यानाकर्षण गरेको र सरकारमा सहभागी नभइकन राम्रोसँग जनताका गुनासोहरु सधै सदनसम्म पु¥याउन आग्रह गरिएको उहाँले बताउनुभयो । जनताहरु अहिले पुराना पार्टीहरु देखेर रुष्ट भइसकेको र अहिले एक जना दुर्गा प्रसाई जस्ता सामाजिक अभियन्ता भनेर सरकारको विरोध गर्नेहरुलाई समर्थन गर्ने खालको भइसकेको उहाँको भनाई छ । जनताहरुमा सरकार र पुराना पार्टीहरुसँग कुनै पनि विश्वास नरहेको पाइएको उहाँले बताउनुभयो । २०८४ को निर्वाचनसम्म सच्चिएर जनताको विश्वास जित्ने काम नगरेमा पुराना पार्टीहरु सकिने अवस्था देखिएको उहाँले बताउनुभयो । पुराना पार्टी सच्चिन्छ भन्ने कल्पना गर्न नसकिने उहाँले बताउनुभएको छ ।