वडा नं ८ का खेलाडीहरुको तस्वीर ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी पालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । शनिबार भएको सेमीफाइनल खेलमा ४ नम्बर वडालाई पराजित गर्दै ३ नम्बर वडा फाइनलमा प्रवेश गरेको छ भने ७ नम्बर वडालाई पराजित गर्दै ८ नम्बर वडा फाइनल प्रवेश गरेको राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

हात्तिसुँडेस्थित बुद्ध माविको भलिबल कोर्टमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ३ ले ४ नम्बर वडालाई ३–० को सोझो सेटले हराउँदै फाइनल प्रवेश गरेको हो । वडा ३ ले ४ लाई २५–१९, २५–१७ र २५–१५ ले हराएको हो । म्यान अफ द म्याच वडा नम्बर ४ का राजकुमार राई घोषित भए । यस्तै, दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ८ ले ७ लाई ३–१ को सेटले हराउँदै फाइनल प्रवेश गरेको छ । पहिलो सेट १५–२५ ले गुमाएको वडा नम्बर ८ ले क्रमशः २५–१२ र २५–१६ र २५–१५ ले नतिजा आफ्नो पक्षमा पा¥यो । म्यान अफ द म्याच वडा नम्बर ८ का छिरिङ लोप्चन घोषित भए ।

फाइनल खेल आज आइतबार दिउँसो २ बजे हुनेछ । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्ट खेलाडीहरुले १–१ हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।