हेटौंडाः आगामी मंसिर ७ गतेदेखि पोखरामा सुरु हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ खेल्ने बागमती प्रदेशको पुरुष क्रिकेट टिम छनौटका लागि २७ खेलाडीको नाम घोषणा भएको छ । बिहीबार बागमती प्रदेश क्रिकेट संघले एक सूचना जारी गरी २७ जना खेलाडीको नाम समावेश गर्दै खेलाडीलाई तालिममा बोलाएको हो ।
प्रदेश क्रिकेट पुरुष टिम छनौटको तालिमका लागि बोलाइएको २७ जनाको टिममा मकवानपुरका पाँच जना खेलाडी अटाएका छन् । मकवानपुर क्रिकेट टिमका कप्तान सुमन सुनारसहित पूर्वकप्तान रामनरेश गिरी, रिजन ढकाल, शुभ कंसाकार र गौरव खड्का २७ जनाको टोलीमा परेका हुन् ।
२७ जना टिममा राष्ट्रिय क्रिकेट टिमका मुख्य खेलाडी सन्दीप लामिछाने पनि रहेका छन् । २७ जना खेलाडीबाट अन्तिम १४ र ४ जना वैकल्पिक गरी १८ जना खेलाडी प्रदेश टिममा छनौट हुनेछन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा मंसिर १६ गतेसम्म हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित ७ प्रदेश तथा दुई एकेडेमी टिम गरी कुल १२ टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताको उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।