सडकबाट उद्दार गरिएका सहयोगापेक्षीहरुको स्याहार गर्दै मानवसेवा आश्रमका अभियन्ताहरु ।

हेटौंडाः हेटौंडा–९ स्थित मानवसेवा आश्रमले सुरु गरेको राष्ट्रिय मेची महाकाली अभियानमा २७१ जना सडक मानवको उद्घार गरिएको छ । मानवसेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको ४० दिने अभियानमा कार्तिक २६ गतेसम्म २७१ जना सडक मानवको उद्घार भएको मानवसेवा आश्रमको प्रदेश संयोजक होमनाथ पौडेलले जानकारी दिनुभयो ।

७४ जना महिला, १८६ जना पुरुष, ७ जना बालक र ४ जना बाहिलकाको उद्धार गरिएको पौडेलले बताउनुभयो । असोज २६ गतेबाट सुरु भएको अभियानको टोली अहिले काठमाडौं पुगेको छ । राष्ट्रिय मेची महाकाली अभियान मंसिर ४ गते काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा राष्ट्रिय सभामा समापन गरिने प्रदेश संयोजक पौडेलको भनाइ छ । उद्घारको क्रममा टोलीले हेटौंडाबाट २१ जना, रानीवनबाट २८ जना, चितवनबाट १२ जना, ललितपुरबाट ५ जना, भक्तपुरबाट १ जना, कास्कीको हेम्जाबाट ३६ जना, छोरेपाटनबाट ३ जना, गोरखाबाट ३ जना, वागलुङबाट १ जना लमजुङबाट २ जना, रुपन्देहीको तिलोत्तमाबाट ३१ जना, सुख्खानगरबाट १ जना, दाङबाट १४ जना, नेपालगञ्जबाट ८ जना, सर्लाहीबाट १३ जना, जनकपुरबाट २१ जना, वीरगञ्जबाट १० जना, विराटनगरबाट ५१ जना, सुर्खेतबाट २ जना र धनगढीबाट ८ जना सडक मानवको उद्धार भएको छ । उद्घार भएका २ जनाको पारिवारिक पुनर्मिलन गरिएको संयोजक पौडेलले बताउनुभयो ।

वि.सं २०७७ सालदेखि नै यो अभियान सुरु गरेको र अहिलेसम्म निरन्तरता दिँदै आइरहेको प्रदेश संयोजक पौडेलले जानकारी दिनुभएको छ । दशैँ तिहारलगायतको पर्वहरुमा कुनै पनि मानिसले सडकमा जीवनयापन गर्न नपरोस् भन्ने उद्देश्यका साथ देशव्यापीरुपमा अभियान चलाइएको उहाँको भनाइ छ । अभियानका क्रममा भेटिएका सडकमा जीवनयापन गरिरहेका सहयोगापेक्षी मानवहरुको उद्दार गरिएको उहाँले जानकारी दिनुभयो । मेची महाकाली अभियानले सडकमा बस्ने मानिसहरुको जीवन रक्षामा सहयोग पुग्ने उहाँले बताउनुभयो । मानवसेवा आश्रमको केन्द्रीय अध्यक्ष रामजी अधिकारी, आनिछोइङ डोल्मा फाउण्डेसनका अध्यक्ष छिरिङ डोल्मालगायत ४० जनाको सहभागितामा अभियान सञ्चालन भएको हो ।