आजभन्दा १५ वर्षअघि समृद्ध समाज दैनिकको पहिलो अंक प्रकाशित गर्दै गर्दा हामीले पत्रकारिताको आधारभूत सिद्धान्त सत्य, तथ्य र सन्तुलित समाचार र विचार सम्प्रेषणको प्रतिवद्धता व्यक्त गरेका थियौं । प्रकाशनको डेढ दशक हुँदै गर्दा पनि हाम्रो आधारभूत लक्ष्य नै हाम्रा पाठकलाई सत्य, तथ्य र सन्तुलित समाचार र विचार सम्प्रेषण गर्नु नै रहेको छ । १५ वर्षअघि समृद्ध समाज दैनिक प्रकाशन गर्ने योजना बनाउँदै गर्दाको समाज र आजको समाजमा अकल्पनीय परिवर्तन आएको छ । कतिपय परिवर्तन अपेक्षित छन् भने कतिपय परिवर्तन अनपेक्षित छन् । परिवर्तनशील समाजका कतिपय चरित्र छापा पत्रकारितामैत्री छन् भने कतिपय छापा पत्रकारितामैत्री छैनन् ।
छापा पत्रकारिताको आफ्नै चरित्र र गुणहरु छन् जसलाई आजको उत्तरआधुनिक, सूचना प्रविधिको युगले पनि प्रतिस्थापन गर्न सक्दैन । छापा पत्रकारिताको अभ्यासलाई लिएर हरेक दिन, हरेक क्षण हामीले प्रश्न, प्रतिप्रश्नको सामना गरिरहनुपरेको छ । सूचनाप्रविधिको आजको युगमा छापा पत्रकारिताको औचित्यमाथि प्रशस्त प्रश्न उठिरहे पनि छापा माध्यमको प्रभावकारिताको विकल्प अन्य माध्यम हुनै सक्दैन । छापा माध्यमअन्तर्गत दैनिक पत्रिकाले हरेक दिन समाजमा भएका सबैखाले गतिविधिलाई एउटा सिलसिलामा प्रस्तुत गर्ने गर्छ । समाचारपत्रमा समाचार र विचार पढ्नु र बुझ्नु जस्तो प्रभावकारिता अन्य माध्यममा हुन सक्दैन । हाम्रोमा अनलाइन माध्यमको जति सहजै अभ्यास भइरहेको छ त्यत्ति नै विश्वसनीयताको तराजुमा कमजोर हुनुले पनि छापा माध्यमप्रति परम्परादेखि रहँदै आएको विश्वासले पाठकलाई निरन्तर आकर्षित गरिनै रहन्छ ।
पछिल्लो समय व्यावसायिक पत्रकारिताको अभ्यासमा व्यापारिक नाफाको लोभले समग्र पत्रकारिताको साख कमजोर बन्दै गएको छ । व्यावसायिक पत्रकारिताको अभ्यासमा आज पनि छापा माध्यम नै सबैभन्दा बढी विश्वसनीय सावित भएको छ । नेपाली समाजको तुलना युरोपेली, अमेरिकी समाजले पत्रकारिताको अभ्यास र सिद्धान्तलाई स्थापित गर्ने सन्दर्भमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । ती समाजमा पनि आज छापा माध्यम उत्तिकै सार्थक र उपयोगी रहिरहँदा नेपाली समाजमा छापा पत्रकारिताको औचित्यमाथि प्रश्न उठाउनुभन्दा यसको प्रभावकारिताको उपयोगमा बढी भन्दा बढी ध्यान दिन आवश्यक छ ।
हामीले समृद्ध समाज दैनिकलाई मूलतः स्थानीय समाचार र विचारको महत्वपूर्ण माध्यम बनाउने प्रयास गरिरहेका छौं । हेटौँडा बजार र आसपासका पाठकले समाचार र विचार अध्ययनको आवश्यकतालाई बुझ्न नसक्नु या हामीले बुझाउन नसक्नुले हामी सधैं पाठकको नजरमा गौण सावित भइरहेका छौं । यद्यपि हामी पाठक माझ हामीलाई स्थापित गर्ने प्रयासमा निरन्तर सक्रिय छौं । पछिल्लो समय हामीले नयाँ पुस्तालाई समृद्ध समाज दैनिकको पाठक बनाउने प्रयासमा छौं । जसअन्तर्गत हामीले विद्यालयमा माध्यमिक तह र निम्न माध्यमिक तहका विद्यार्थीलाई नियमित समृद्ध समाज दैनिक उपलब्ध गराइरहेका छौं । यसले विद्यार्थीको पठन संस्कृतिको विकास, समसामयिक जानकारी अद्यावधिक हुने र विद्यार्थीको परिवारले समेत अध्ययनमा अभ्यस्त हुने अपेक्षा गरेका छौं । नयाँ पुस्तामा पठन संस्कृति विकास गर्न सके हामीले पाठक प्राप्त गर्ने र हाम्रा सत्य, तथ्य र सन्तुलित समाचारले आगामी दिनमा सही जनमत निर्माण गर्ने अपेक्षा राखेका छौं ।
यस्तो पृष्ठभूमिका आज हामी हाम्रा आम पाठकलाई आग्रह गर्न चाहान्छौं, तपाइँ आफूले मात्रै पढ्ने नभई परिवारका हरेक सदस्य, छर–छिमेक र समुदायमै पठन संस्कृतिको विकास गर्दै हरेक दिन समाजको गतिशीलताको विषयमा वास्तविक जानकारी हासिल हुने गरी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, विचार उपलब्ध माध्यमहरुमार्फत अध्ययन गरी आजको समयलाई बुझ्न सक्ने गरी वास्तविक समाचार र विचार हासिल गर्ने वातावरण निर्माणमा सक्दो सहकार्य गरिदिन आग्रह समेत गर्दछौं ।
आजको दिनमा हामी हाम्रा पाठकलाई धैर्य भएर समाचार र विचार अध्ययन गर्न र रचनात्मक प्रतिक्रियासहित सुझावका लागि आग्रह गर्दछौं । हामीले तयार पारेका समाचार र विचारको पाठकले भरपूर सदुपयोग गर्ने र गुणस्तरीय सामग्रीका लागि निरन्तर उपयुक्त प्रतिक्रिया प्राप्त हुँदा मात्रै हामी जिम्मेवार पत्रकारिताको अभ्यासमा सक्रिय रहन सक्छौं । हामी हाम्रा पाठककै अगाडि आफूलाई प्रस्तुत गर्ने र आवश्यक सुधारका लागि तयार रहने स्पष्ट पार्न चाहान्छौं । डेढ दशकको अनुभवले आगामी दिनमा हामी हाम्रा पाठक सामु विश्वसनीय समाचार र विचार पर्याप्त मात्रामा प्रस्तुत गर्न सफल हुनेछौं । यो डेढ दशकको यात्रा यस्सै सम्भव भएको छैन । हामीलाई विज्ञापन दिएर आफ्नो व्यावसायिक र संस्थागत प्रवद्र्धन र प्रक्रिया मात्रै पूरा नगरी हामीलाई निरन्तर क्रियाशील हुने पुँजी उपलब्ध गराउनुहुने सम्पूर्ण विज्ञापनदाता हाम्रा लागि अमूल्य हुनुहुन्छ । लेखक, शुभेच्छुक र सहयोगीप्रति पनि आभार व्यक्त गर्दै आगमाी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा राख्दछौं ।