हेटौँडा: मकवानपुर जिल्ला फुटबल संघले गत वर्षको माघ महिनामा आयोजना गरेको पाँचौं सहिद स्मृति स्थानीय तह मकवानपुर अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय विवरण ९ महिनापछि सार्वजनिक गरेको छ । शनिबार मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघको आम्दानी र खर्चको विवरण पेश गरेको हो ।
पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघका कोषाध्यक्ष अमृत लुङ्वाले आय–व्यय विवरण सार्वजानिक गर्नुभयो । अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगितामा १ करोड १९ लाख २२ हजार ७ सय ९१ रुपैयाँ खर्च भएको कोषाध्यक्ष लुङ्बाले जानकारी दिनुभयो । प्रतियोगिता आयोजनाका लागि १ करोड २१ लाख ३३ हजार २ सय २६ रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिकाबाट १८ लाख ७५ हजार रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट ४३ लाख ३५ हजार १ सय २ रुपैयाँ, गाउँपालिकाबाट २५ लाख ६९ हजार ८ सय ७५ रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
यस्तै विभिन्न संघ, संस्थाहरुले पनि आर्थिक सहयोग गरेको थियो । हेटौँडा स्कुल अफ म्यानेजमेन्टबाट ६ लाख ९० हजार, टिकटबाट ९ लाख ७१ हजार १ सय ५० रुपैयाँ अन्य आम्दानी २ लाख २० हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको खर्चतर्फ बुलेट बाइक ६ लाख ९० हजार, पुरस्कार १८ लाख ७५ हजार रुपैयाँ, रेफ्री खर्च ६ लाख ५७ हजार, अतिथि सत्कार २ लाख ९३ हजार रुपैयाँ, खेलाडीका लागि यातायात खर्च ३२ लाख ७० हजार ७४ रुपैयाँ, उत्कृष्ट खेलाडीका लागि १ लाख २५ हजार रुपैयाँ, म्यान अफ द म्याचका लागि १ लाख १० हजार रुपैयाँ, लेवर ग्राउन्ड ज्याला ८५ हजार रुपैयाँ, बल व्वाइ २६ हजार ४ सय रुपैयाँ, स्टेशन ब्वाइ ३३ हजार रुपैयाँ, विशेष क्षमता भएका टिकट चेकमा ७९ हजार २ सय रुपैयाँ टिकट काट्ने महिला १ लाख १८ हजार रुपैयाँ खर्च भएको कोषाध्यक्ष लुङ्बाले जानकारी दिनुभयो ।
यस्तै गोल नेपाल १ लाख रुपैयाँ, ग्रुप फोटो १ लाख ४२ हजार १ सय ८६ रुपैयाँ, टिकट छापेको ४५ हजार रुपैयाँ, प्रचार प्रसारका लागि ४ लाख ७९ हजार रुपैयाँ र पानीका लागि ३६ हजार रुपैयाँ खर्च भएको छ । आयोजकको नास्तामा १ लाख १ हजार रुपैयाँ, स्वयम्सेवक २ लाख ९४ हजार ९ सय ४० रुपैयाँ, साउन्ड सिस्टम १ लाख ५० हजार रुपैयाँ, मायोको चिनो, फ्लेक्स २ लाख ९३ हजार ४५ रुपैयाँ, यातायात खेलाडी १ लाख ५० हजार रुपैयाँ, स्टाफ तलब ६५ हजार रुपैयाँ, जिंगल ३० हजार रुपैयाँ, अन्य खर्च ९९ हजार २ सय ३० रुपैयाँ, खेलमैदानका लागि ४ लाख ६४ हजार ९ सय ४३ रुपैयाँ, खेलकुद सामग्री खरिदका लागि ७० हजार रुपैयाँ, अफिस तथा मसलन्दको लागि १५ हजार रुपैयाँ, सामाजिक सुरक्षा कर ५ लाख ८९ हजार ४ सय ६४ रुपैयाँ खर्च भएको छ । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको सभाध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।