हेटौंडाः महाकवि लक्ष्मीप्रसाद जयन्तीको अवसरमा कञ्चनपुर नगरपालिकामा भएको साहित्यकारहरुको भेलाले बुढ्यौली साहित्य समाज, सप्तरी शाखाको गठन गरेको छ ।
समाजको अध्यक्षमा तीर्थराज पोखरेल, उपाध्यक्ष्यमा मीना साह (एन्जल निलु), सचिवमा मनोहर पोखरेल, कोषाध्यक्षमा दुर्गा दाहाल, र सदस्यहरूमा शिवा निरौला अधिकारी, रामकुमार चौधरी र मेघराज पौड्याल रहेका छन् ।
उक्त अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्विरमा माल्यार्पण गरिनुका साथै विविध रचना समेत वाचन गरिएको थियो । कार्यक्रममा दुई दर्जन साहित्यकारको उपस्थिति रहेको थियो । समाजमा विद्यमान अन्य वर्ग झै वृद्धत्व परिलक्षित वाङ्मयको अनुपस्थित आभास भइरहेको अवस्थामा यस क्षेत्रमा वाञ्छित कार्य सम्पादनार्थ यस संस्थाको स्थापना गरिएको हो ।