हेटौंडाः हेटौंडामा आगामी मंसिर ५ गतेदेखि स्वर्गीय सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी आयोजक एफसी मुण्डियालले प्रतियोगिताबारे जानकारी गराएको हो । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा बाहिर जिल्लाका तीन टिम र जिल्लाभित्रका ११ गरी १४ टिमको सहभागिता रहने भएको छ ।
प्रतियोगितामा बाहिर जिल्लाका गोर्खाको हिली फिल्डर्स एफसी, बाराको नवजागृति युवा क्लब र पर्साको वीरगन्ज स्पोर्टस् एकेडेमी सहभागी हुने भएको छ । यस्तै जिल्लाभित्रका न्यु डाँफे युथ क्लब, एफसी रिगल हेटौंडा रिसोर्ट, पदमपोखरी फुटबल एकेडेमी, निल गगन युवा क्बल, सहिद स्मृति क्लब, हेटौंडा फुटबल एकेडेमी, थाहा नगरपालिका, रियल स्टार क्लब, कमाने फुटबल एकेडेमी, नागस्वती युथ क्लब र आयोजक एफसी मुन्डियाल सहभागी रहने जनाएको छ । प्रतियोगिताको खेल तालिका भने केही दिनपछि सार्वजनिक गर्ने जनाएको छ ।
मंसिर १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताबाट बचत भएको रकम जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग गरिने जनाएको छ । प्रतियोगिताका संयोजक सुदीप सिंह ठकुरीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समिति मकवानपुरका प्रमुख वेश खड्की, अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाको पनि उपस्थिति रहेको थियो ।
प्रतियोगिता आयोजनाका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको आयोजक एफसी मुण्डियालका सुविन घिमिरेले जानकारी दिनुभएको छ । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीले प्रतियोगिताका लागि १० हजार रुपैयाँ सहयोग गर्ने बताउनुहुँदै आगामी दिनमा पनि व्यक्तिगतरुपमा भए पनि निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।